३१ जेठ २०८३, आइतबार

१ करोड २५ लाख राजश्व हिनामिना प्रकरण : मालपोत अधिकृत मिश्रसहित ६ जना दोषी ठहर

जेठ २८, २०८१
काठमाडौं
१ करोड २५ लाख राजश्व हिनामिना प्रकरण : मालपोत अधिकृत मिश्रसहित ६ जना दोषी ठहर

मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृत हरिनारायाण मिश्रसहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । 

विशेष अदालतले सोमबार मिश्रसहित भुपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, कमोद तिवारी, स्वर्गीय किरणप्रसाद उपाध्यायलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका सूचना अधिकारी धनबहादुर कार्कीका अनुसार प्रतिवादी मिश्र र बोगटीलाई जनही १ करोड २५ लाख ११ हजार ९९० रुपैयाँ, ढुंगानाविरुद्ध ३५ लाख ४५ हजार ९५० रुपैयाँ, अर्यालविरुद्ध १६ लाख ८१ हजार ६ सय रुपैयाँ, तिवारीविरुद्ध १ करोड २५ लाख ११ हजार ९९० रुपैयाँ र स्वर्गीय उपाध्यायविरुद्ध पनि १ करोड २५ लाख ११ हजार ९९० रुपैयाँ बिगो ठहर भएको छ ।

उनीहरूको सजाय निर्धारणका लागि २०८१ असार ५ गते पेशी तोकिएको कार्कीले बताए ।

त्यसैगरी अर्का प्रतिवादी चन्द्रबहादुर भण्डारीको हकमा ६ महिना कैद र बिगोको दोब्बर ४ लाख ८८ हजार ९२५ रुपैयाँ जरिवाना गरिएको छ ।

स्वर्गीय किरणप्रसाद उपाध्यायको हकमा बिगोको ७५ प्रतिशत उनको हक खाने छोराहरू राजकिशोरप्रसाद उपाध्याय, पशुपतिप्रसाद उपाध्याय र मुरारीप्रसाद उपाध्यायबाट दामशाहीले असुल उपर गर्ने फैसला गरिएको छ ।

कार्यालयमा उठेको राजश्व हिनामिना गरेको आरोपसहित उनीहरूविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

आर्थिक वर्ष २०७१/७२ मा मालपोत कार्यालय पर्साको रजिष्ट्रेशन फाँट ‘ग’का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम दाखिला नगरी हिनामिना गरेको उजुरीको छानबिन हुँदा भ्रष्टाचार भएको पुष्टि भएपछि कार्यालयका तत्कालीन मालपोत अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।

तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरुद्ध २ करोड ९ लाख ३१ हजार ६ सय ४७ रुपैयाँ, तत्कालीन मालपोत अधिकृत भुपबहादुर बोगटीविरुद्ध १ करोड ४९ लाख ६९ हजार १४५ रुपैयाँ, तत्कालीन मालपोत अधिकृत गोपालबहादुर ढुंगानालाई ३५ लाख ४५ हजार ९५० रुपैयाँ जरिवाना मागदाबी गरिएको थियो ।

यस्तै, तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याललाई १६ लाख ८१ हजार ६००, चन्द्रबहादुर भण्डारीलाई २ करोड ४४ लाख ४६२, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीलाई एक करोड ४१ लाख ४७ हजार १७१ जरिवाना गर्न मागदाबी गरिएको थियो ।

यस्तै, तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायलाई ५ करोड ५५ लाख १९ हजार ९७५ दामासाहीले असुल-उपर गर्ने मागदाबी लिइएकोमा उपाध्याय र उनकी श्रीमतीको पनि मृत्यु भइसकेकाले उनीहरूको छोराहरू राजकिशोरप्रसाद उपाध्याय, गौतमप्रसाद उपाध्याय, पशुपतिप्रसाद उपाध्याय र मुरारीप्रसाद उपाध्यायसँग जरिवाना बापतको रकम असुल उपर गर्न माग गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्