०६ असार २०८३, शनिबार

सोमबार चार मापन केन्द्रमा तापक्रम ४० डिग्रीमाथि

जेठ २८, २०८१
काठमाडौं
सोमबार चार मापन केन्द्रमा तापक्रम ४० डिग्रीमाथि

पछिल्लो केही दिनदखि तापक्रम बढिरहेकोमा आज कतिपय स्थानहरुमा तापक्रम ४० डिग्री आसपास पुगेको मापन गरिएको छ । चार वटा मापन केन्द्रमा भने तापक्रम ४० डिग्रीमाथि मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले आज साँझ सार्वजनिक गरेको २० वटा तापक्रम मापन केन्द्रको तथ्याङ्कअनुसार आज सबैभन्दा बढी धनगढीमा ४४ डिग्री पुगेको छ । त्यसपछि नेपालगञ्जमा ४३ दशमलव छ, दीपायलमा ४० दशमलव सात  र वीरेन्द्रनगरमा ४० दशमलव नौ डिग्री अधिकृतम तापक्रम मापन गरिएको छ ।  

यस्तै दाङको घोराहीमा ३९ दशमलव छ, भैरहवामा ३९ दशमलव आठ, सिमरामा ३७ दशमलव पाँच र जनकपुरमा ३७ डिग्री तापक्रम पुगेको छ । आज काठमाडौँमा ३४ दशमलव चार डिग्री तापक्रम मापन गरिएको छ । काठमाडौँमा ३४ दशमलव  चार पुगेको यो वर्ष दोस्रो पटक हो ।

केहीअघि नेपालगञ्जमा ४४ दशमलव  दुई डिग्री मापन भइ यो वर्षकै तापक्रमले रेकर्ड ब्रेक गरेको थियो । त्यसपछि वर्षा हुँदा विस्तारै तापक्रम घटिरहेकोमा यही जेठ २६ गतेदेखि तापक्रममा बढोत्तरी आएको थियो । 
 
तोकिएको मितिभन्दा तीन दिन अघि आज पूर्वी नेपालबाट मनसुन भित्रिए पनि आज धेरैजसो क्षेत्रमा बढी गर्मी महसुस गरिएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले अझै पनि एक/दुई दिनमध्ये र पश्चिम क्षेत्रमा तापक्रम बढी नै रहने जानकारी दिए । पूर्वबाट मनसुन भित्रिए पनि तराई तथा पश्चिम क्षेत्रमा तत्काल वर्षाको प्रणाली नरहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्