०२ साउन २०८३, शनिबार

भरत ताल निर्माणमा सवा ३० करोड अनियमितता, बागमतीका नगरप्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जेठ २९, २०८१
काठमाडौं
भरत ताल निर्माणमा सवा ३० करोड अनियमितता, बागमतीका नगरप्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सर्लाहीको भरत ताल निर्माणमा ३० करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा नगरप्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार बागमती नगरपालिकाका (हाल निलम्बित) नगर प्रमुख भरतकुमार थापा, नगर उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार बागमती नगरपालिका वडा नम्बर ४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, बालुवालगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता भएको उजुरी आयोगमा परेको थियो ।

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा ताल निर्माणमा उनीहरूले ३० करोड २९ लाख ३४ हजार ८९६ रुपैयाँ अनियमितता गरेको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

आयोगले निलम्बित नगरप्रमुख थापा, उपप्रमुख मुक्तान, प्रमुख प्रशासकीय अधिकृत पोखरेल, तत्कालीन योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल, जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गराएको हो ।

आयोगका अनुसार संघीय सरकारअन्तर्गतको सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रमा स्वीकृतविना ढुङ्गा, गिट्टी, बालुवा (वन पैदावार) उत्खनन् गरिएको थियो ।

तर उनीहरूले आपसी मिलेमतोमा बदनियत राखी प्रारम्भिक परीक्षण प्रतिवेदन स्वीकृत भएको भन्ने गलत लिखत तयार गरेको पाइएको अभियोगपत्रमा उल्लेख छ ।

गलत लिखत तयार गरेर बागमती नगर कार्यपालिकाबाट उक्त माछा पोखरीको डीपीआर तयार गरेको देखाई बहुउद्देश्यीय माछा पोखरी निर्माण गर्ने कार्यको गुरु योजना स्वीकृतसमेत नगरी /नगराइ उत्खननको काम गराइएको अभियोगपत्रमा उल्लेख छ ।

बागमती नदीको बहाव प्रयोग गर्न स्वीकृति नलिई माछा पोखरी (हाल ताल) निर्माण गर्ने भनी सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा उक्त परियोजना नेपाल सरकारको स्वीकृतविना बागमती नगरपालिकाले बागमती माछा पोखरी-१ बाट १७ लाख ८८ हजार २६४ घनमिटर नदीजन्य पदार्थ उत्खनन गरेको आयोगले जनाएको छ ।

त्यसैगरी बागमती माछा पोखरी-२ बाट २१ लाख ८४ हजार ९२७ घनमिटर गरी कुल ३९ लाख ७३ हजार १९१ घनमिटर नदीजन्य पदार्थ उत्खनन गरेको उल्लेख छ ।​​​

बल्किङ्सहित गणना गर्दा हुने जम्मा उत्खनन् परिमाण ४७ लाख २८५ घनमिटर नदीजन्य पदार्थमध्ये बागमती नगरपालिकाबाट बिक्री भएको परिमाण ७ लाख ५२ हजार ९ घनमिटर, आयोजनामा प्रयोग भएको ७ लाख ५० हजार १४३ घनमिटर सहित जम्मा १३ लाख ४० हजार ४१९ घनमिटर नदीजन्य पदार्थको हानी नोक्सानी भएको अभियोगपत्रमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्