
काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको काम समयमा सम्पन्न नहुँदा नेपाली सेनाको बदनाम भएको भन्दै सांसदहरूले सेनालाई ठेक्का पट्टामा लगाउन नहुने बताएका छन् ।
सेनालाई व्यापार र ठेक्का पट्टामा लगाउँदा भविष्यमा व्यवस्था माथि नै खतरा उत्पन्न हुने उनीहरूले चिन्ता व्यक्त गरे ।
विनियोजन विधेयक अन्तर्गत रक्षा मन्त्रालयका शीर्षकमाथि बुधवार प्रतिनिधि सभामा भएको छलफलमा बोल्ने अधिकांश सांसदले सेनालाई ठेक्का पट्टामा लगाउन नहुने बताएका हुन् ।
सत्तारुढ नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेपाली सेनाजस्तो संवेदनशील अंगलाई व्यापार व्यवसाय र ठेक्कापट्टामा लगाउँदा गणतन्त्र माथि नै संकट आउन सक्ने टिप्पणी गरे ।
‘नेपालको राजनीतिक पार्टीहरू त्यस्तो संवेदनशील अंगलाई सेनालाई हामी व्यापार गर्न र ठेका पट्टा गर्न दिन्छौ । सुरक्षा संवेदनशीलताको हिसाबले यो कतिको जायज हो, कसैले मुख खोल्न सक्दैनन्,’ गुरुङले संसदमा भने, ‘त्यो चिज धेरै महत्त्वाकाङ्क्षी बन्यो भने हाम्रो लोकतन्त्र, गणतन्त्रमाथि विभिन्न देशको घटना हेर्दा त्यस्तो महत्त्वाकाङ्क्षी बढ्दा हुँदा संकट पैदा भएको देखेको छैन ? हामीले देखेका छौ नि !’
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले फास्ट ट्रयाक सरकार र रक्षा मन्त्रालयको भ्रष्टाचारको अखडा बनेको टिप्पणी गरे । ‘फास्ट ट्रयाक सरकार र रक्षा मन्त्रालयबीच बीच क्रप्सनको ठाउँ हो । पहिले स्टमेट कति भएको थियो ? फास्ट ट्रयाक शुरूमा ८० अर्बको स्टमेट थियो, अहिले १७० अर्ब पुगेको छ । ग्यारेन्टीका साथ भन्छु २५० अर्बमा पनि बन्दैन, किनकि त्यहाँ मिलि भगत छ,’ सांसद सिंहले भने ।
आम नागरिक पार्टीका सांसद प्रभु साहले सेनालाई राष्ट्रको गौरव र सम्मानित संस्थाको रूपमा राख्नुपर्ने बताए । उनले सेनालाई विकासमा लगाउन सकिने भएपनि सडक विभागले जस्तो ठेकेदारलाई जिम्मा दिनेगरी काम लगाउन नहुने बताए ।
‘सेना राष्ट्रको गौरव हो, यसलाई विकासमा लगाउन सक्छौ । सेनाले विकास निर्माणको जिम्मा लिएको छ, उही ठेकेदार लाई जिम्मा दिने हो भने सडक विभागलाई नै दिए पनि हुन्छ,’ सांसद साहले भने, ‘दुई वर्षमा गर्छु भनेर चार वर्ष लगाउन अरूलाई मिल्छ सेनालाई मिल्दैन ।’
नेपाली कांग्रेसका सञ्जय गौतमले सेनाको मौलिकता बचाउनु पर्ने बताए । ‘सेनालाई विकासमा लगाउनु पर्छ, तर व्यापारमा लगायौ भने संस्थाको सुन्दरतामाथि प्रश्न उठ्छ,’ गौतमले भने ।
कांग्रेसकै रामकृष्ण यादवले सेनाको मनोबल बढाउनु पर्ने बताए । ‘फास्ट ट्रयाक कछुवा गतिमा भइरहेको छ, यसको गति बढाउनु पर्छ,’ यादवले भने ।
राप्रपाका ध्रुवबहादुर प्रधानले सडक निर्माण र सुरुङ निर्माणका लागि आवश्यक पर्ने विस्फोटक पदार्थ सेनाले नै उत्पादन गर्न सक्ने बताए ।
नेपाली कांग्रेसका अजय चौरसियाले फास्ट ट्रयाक निर्माणमा भइरहेको ढिलाइले सेनाको बदनामी भइरहेको बताए ।