
विनियोजन विधेयकमाथि छलफल चलिरहँदा मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभाको बैठक केहीबेर रोकिएको छ । बिहीवार र शुक्रवार एउटै दृष्य देखिएको हो ।
विनियोजन विधेयकमाथि खर्च कटौती प्रस्ताव राख्न रोष्टममा पुगेका बेला सम्बन्धित मन्त्री नदेखेपछि बिहीवार स्वतन्त्र सांसद अमरेशकुमार सिंहले छलफल रोक्न माग गरेका थिए । सभामुखले सांसदलाई रोष्टममै उभ्याएर मन्त्रीलाई छिटो बैठकमा आउन आग्रह गरेका थिए ।
केही बेरमा स्वास्थ्य मन्त्री प्रदीप यादव उपस्थित भएपछि बैठक शुरू भएको थियो । शुक्रवार पनि खर्च कटौती प्रस्ताव राख्ने क्रममा सम्बन्धित २ जना मन्त्री उपस्थित थिएनन् । त्यसपछि सभामुखले सांसदलाई रोष्टममै उभिन भनेर मन्त्रीलाई आउन आग्रह गरे ।
त्यही बेला कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले नियमापत्ति गर्दै संसद्मा बारम्बार यस्तो भइरहेको भन्दै नियमावली नै संशोधन गर्ने कि भनेर प्रश्न गरे । ‘बैठक ५ घण्टा चल्दा मन्त्रीजीलाई गाह्रो भएको छ । नियमावली संशोधन गर्ने कि ? वक्तालाई त्यहाँ अडाइ राख्नु गलत हो । मन्त्री अनुपस्थित हुने, माननीयले सजाय पाउनु पर्ने उल्टो भयोजस्तो लागेको छ, यसलाई करेक्सन गरियोस्,’ लेखकले भने ।
त्यसपछि सांसद सिंहले मन्त्री नआउञ्जेल आफ्नो समय नकाटियोस् भनेर आग्रह गरे । ‘टाइम नकाटियोस् । उभिँदा उभिँदै टाइम गयो भने त ..’उनले भने ।
सभामुखले समय नकाटिने बताए । केही क्षणमा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा बैठकमा उपस्थित भइन् । त्यसपछि बैठकमा छलफल शुरू भयो ।
सभामुख घिमिरेले छलफलको बेला मन्त्रीहरूलाई संसद्मा उपस्थित हुन निर्देशन दिए । विनियोजन विधेयकमाथि संसद्मा मन्त्रालयगत छलफल चलिरहेको छ । छलफल सकेर असार ७ गते बजेट पारित गर्ने सरकारको तयारी छ ।