
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको मनहरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
लोथर-हाङ्गलाङ्ग-फरिवाङ्ग-पाङ्गथली सडक स्तरोन्नतिका लागि विनियोजित बजेट हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उक्त सडक स्तरोन्नति कार्यमा अनियमितता भएको उजुरी आयोगमा परेको थियो ।
अनुसन्धानका क्रममा योजनाको यथार्थभन्दा बढी मूल्याङ्कन गरेको, निर्धारित सर्त तथा मापदण्ड पालना नगरेको पाइएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो ।
आयोगले चौलागाईं, तत्कालीन इन्जिनियर अमितकुमार ठाकुर र प्रतीक्षा निर्माण सेवाका निर्माण व्यवसायी बुद्धिराज कँडेलविरुद्ध ३ लाख ९१ हजार ९२९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।