०६ असार २०८३, शनिबार

कलाकारको भाइटीका योजना

कात्तिक २०, २०७४
कलाकारको भाइटीका योजना

काठमाडौं, ४ कार्तिक – हिन्दू नेपालीहरुको रंगीन पर्व तिहार आज नेपालभर नै हर्षोल्लासका साथ मनाइँदैछ । भारत, नेपाल तथा अन्य देशका हिन्दू र नेपालीभाषीले उल्लासका साथ मनाउने तिहारलाई कलाकारलाई पनि तिहार रौनकले छोएको छ । केही कलाकारलाई तिहारले छोए पनि केही कलाकारले भने तिहार मनाउने छैनन् । केहीले पारिवारिक कारणले तिहारको टीका लगाउन नपाए पनि केही कलाकारले भने तिहारलाई विशेष रुपमा मनाउँदै छन्ः

निशा अधिकारी, नायिका
नायिका निशा अधिकारी आफ्नो वैवाहिक जिन्दगीपछि अझै व्यस्त भएकी छिन् । चलचित्र ‘झ्यानाकुटी’ बाट निर्मात्री समेत बनेकी अधिकारी यतिबेला भने फिल्मकै प्रचारमा व्यस्त छिन् । आफ्नो जन्मघर लमजुङ जान नपाए पनि उनले काठमाडौंमै तिहार मनाउँदै छिन् । ‘काम विशेषले तिहार मनाउन नपाउँदा हरेक वर्ष अमेरिकामा हुनुभएका दाइको तस्वीरमा टीका लगाइदिएर तिहार मनाउने गरेकी छु,’ निशा भन्छिन्, ‘चलचित्रको प्रचारले गर्दा व्यस्त भएर गाउँ जान पाइन, साइतको बेला दाइको तस्वीरमा टीका लगाउने र दाइसँग भिडियो च्याट गर्ने योजना छ अहिले ।’

दीपाश्री निरौला, निर्देशक
दीपाश्री निरौलाले भने यसपटक तिहार मनाउने छैनिन् । तिहारलाई खुबै उत्सुकता र रमाइलो चाडका रुपमा लिने दीपाश्रीले अहिले भने आफन्तको मृत्युले तिहार नमनाउने भएकी हुन् । ‘यसपटक तिहार मनाउन नपाउँदा केही खल्लो भएको छ, तिहार मेरा लागि विशेष चाड पनि हो,’ निरौला थप्छिन्, ‘तिहारलाई जस्तै छठ महारानीलाई पनि उत्तिकै विश्वास गर्छु, रमाइलोमा सामेल नभए पनि मनदेखि तिहारलाई मानेकी छु ।’

सुरक्षा पन्त, अभिनेत्री
धनपति नायिका सुरक्षा पन्त तिहार मनाउनका लागि बुटवल पुगेकी छिन् । आफ्नो घरमा परिवारसँग रमाइलो गर्दै तिहार मनाउन उनी बुटवल पुगेकी हुन् । केही वर्ष परिवारका पूरै सदस्य बसेर तिहार मनाउन नपाए पनि अहिले भने पूरै दाजुभाइ, दिदीबैनी जम्मा भएकोले अझै रमाइलो हुने बताउँछिन् सुरक्षा । ‘तिहारमा भाइलाई टीका लगाइदिने हो, भाइ त साथीहरुसँग भैलो खेल्दै पनि हिँड्छ, हामी भने घरमै परिवारसँग बसेर रमाइलो गर्नेछौं ।’, उनी भन्छिन् ।

वर्षा शिवाकोटी, नायिका
जन्मघर झापा भए पनि नायिका वर्षा शिवाकोटी परिवारसँग काठमाडौंमै दशैं मनाउने तयारीमा छिन् । आफू देउसी नखेले पनि घरमा आउनेसँग बसेर रमाइलो गर्ने र आफ्ना दाइलाई टीका लगाइदिने, तास खेल्ने गरेर घरमै रमाइलो गर्ने योजनामा छिन् । ‘फिल्म क्षेत्रमा लागेपछि देउसी खेल्दै हिँड्न अलि नमिल्ने रहेछ, स्कूल पढ्दा हामीले केही वर्ष देउसी खेलेका थियौं, यसपालि पनि परिवारसँगै तिहार मनाउँदै छौं ।’, वर्षा भन्छिन् ।

कमेन्ट गर्नुहोस्