
‘आँखालाई माया गर्नुहोस्’ नामक बालबालिका लक्षित आँखा स्वास्थ्य प्रवर्द्धन गर्ने चेतनामूलक पुस्तक लोकार्पण गरिएको छ ।
नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्क र तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।
अस्ट्रेलियाली दूतावासको सहयोगमा अस्ट्रेलियाली सामाजिक उद्यमी तथा रोटरियन सान्ड्रा फिडेल्डीको परिकल्पनामा नेपालका विज्ञ मिथिला कलाकारहरूको टोलीद्वारा तयार पुस्तक तिलगंगा आँखा प्रतिष्ठानको बाल आँखा उपचार विभागबाट उपलब्ध हुने नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले जनाएको छ ।
त्यस अवसरमा राजदूत भोल्कले प्रस्तुत पुस्तिकाबाट अस्ट्रेलिया र नेपालबीचको जनस्तरको सम्बन्धलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
सान्ड्रा फिडेल्डेलीले निःस्वार्थ रुपमा नेपाली बालबालिका कलाकार र स्वास्थ्यकर्मीमा पुर्याएको सहयोगको प्रशंसा गर्दै उनले दुई देशका जनताको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत मिलेको बताइन् ।
प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत गुरुङले पुस्तक प्रकाशनलगायत गतिविधिबाट नेपाल–अस्ट्रेलिया सम्बन्ध विस्तारमा योगदान गर्ने बताइन् ।