
राठी ग्रुपको एक प्रमुख उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बेस्डरमा महानायक राजेश हमाल नियुक्त भएका छन् ।
काठमाडौंको मेरियट होटलमा मङ्गलबार आयोजित एक समारोहबीच राठी ग्रुपका अध्यक्ष अरुणकुमार राठी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनहरूमार्फत यसको प्रचार गर्नेछन् ।
हमाललाई एम्बेस्डर नियुक्त गरेपश्चात राठी ग्रुपका अध्यक्ष राठीले ‘राठी’ ब्रान्डले चलचित्रमा हमालको उत्कृष्ट विरासतलाई सदैव सम्मान गर्ने बताए।
उनले हमाललाई ब्रान्ड एम्बेस्डरको रूपमा स्वागत गर्दै यो सहकार्यले नेपाली चलचित्र र समाजको लागि महानायकको प्रतिबद्धता र ‘राठिकोल’को उत्कृष्टताको प्रतिबद्धतासँग उत्तम रूपमा मेल खाने विश्वास व्यक्त गरे।
अध्यक्ष राठीले ‘राठीकोल’ एढेसिभ उत्पादन गुणस्तरको हिसाबमा पनि पहिलो र उत्पादनको हिसाबमा पनि पहिलो रहेको बताए।
यस्तै अभिनेता हमालले ‘राठीकोल’लाई ‘नेशनल प्राइड’को रूपमा सम्बोधन गर्दै नेपालमा यो गुणस्तरको उत्पादन हुनु सबै नेपालीको लागि गर्वको कुरा रहेको बताए।
कैयन् विदेशी ब्रान्डहरूलाई जित्दै आफ्नो वर्चस्व कायम गर्न सफल रहेको बताउँदै उनले यसको गुणस्तरको विश्वास लिएपछि मात्र एम्बेस्डर बन्न राजी भएको बताए। 'निकै वर्ष पहिले ‘राठीकोल’को चाख लाग्दो विज्ञापन आउँदा नै मैले यो ब्रान्डबारे थाहा पाएको थिएँ, पछिसम्म मेरो मानसपटलमा यो रहिरहेको रहेछ,' उनले भने ।
सम्झौता हस्ताक्षर समारोहमा राठीकोलका सीईओ योगेश राठी, सेल्स एन्ड मार्केटिङका प्रमुख रिदम शाहलगायतको उपस्थिति थियो।
