२५ जेठ २०८३, सोमबार

१५ सयमध्ये भौतिक पूर्वाधार मन्त्री महासेठ र श्रीमतीको क्षेत्रमा मात्रै ३ सय योजना

असार ५, २०८१
काठमाडौं
१५ सयमध्ये भौतिक पूर्वाधार मन्त्री महासेठ र श्रीमतीको क्षेत्रमा मात्रै ३ सय योजना

नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले १५ सयमध्ये ३ सय योजना आफू र आफ्नी श्रीमती जुलीकुमारी महतोको क्षेत्रमा पारेको दाबी गरेका छन् ।

बजेटमाथिको छलफलमा बुधबार प्रतिनिधि सभाको बैठकमा भाग लिँदै घिमिरेले यस्तो दाबी गरेका हुन् ।

‘भौतिक पूर्वाधार मन्त्री उहाँ इन्जिनियर हुनुहुन्छ मैले थाहा पाए अनुसार बडो सम्पन्न र समृद्ध मान्छे हुनुहुन्छ । बडो योग्य पनि हुनुहुन्छ । योग्य भएर नेकपा एमालेले उहाँलाई नेतृत्व गरेर सरकारमा उपप्रधानमन्त्री बनाएर पठाएको होला । तर मैले यत्ति ठूलो निर्लज्ज मान्छे संसारमै देखेको छैन,’ घिमिरेले भने, ‘१५ सय योजना पर्दा, तीन सय योजना उहाँको श्रीमान् र श्रीमतीको क्षेत्रमा मात्रै छ । गनेर हेर्नुहोस् ।’

यसरी मनोमानी गर्दा सरम र धर्मको समेत ख्याल नगरेको उनले बताए ।

‘लाज हुन्छ । सरम हुन्छ, धर्म हुन्छ । म राष्ट्रको मन्त्री हुँ भन्ने गर्व हुन्छ मान्छेलाई । तर कतै पनि केही नभएको शून्यतामा बाँचेको मान्छेलाई उपप्रधानमन्त्री र सरकारको नेतृत्व गर्न पठाउने नेकपा एमालेलाई पनि मेरो हार्दिक बधाई छ,’ घिमिरेले भने, ‘उहाँ नेता केपी ओली प्रधानमन्त्री हुँदा निर्वाचन क्षेत्र रणनीतिक सडकको योजना पनि कम्प्लिट हुने गरी पैसा हाल्छु भनेको जम्मा ३ करोड ६० लाख रुपैयाँ हालेको रहेछ ।’

सहरी विकास मन्त्रालयले आफ्नो क्षेत्रमा एक सुक्का पनि बजेट नदिएको भन्दै उनले आपत्ति  जनाए । ‘शहरी विकास मन्त्रालयले यत्रो ठूलो किताब छापेको । पढ्न तीन चार दिन लाग्छ । धेरै बजेट विनियोजन पनि गरेको छ,’ घिमिरेले भने, ‘९२ अर्ब रुपैयाँको बजेटमा मेरो क्षेत्रमा ९२ रुपैयाँ पनि छैन । एक रुपैयाँ, एक सुक्का पनि दिइएको छैन ।’

आफ्नो सिन्धुलीको क्षेत्रमा नियमित जाने ५ करोडबाहेक अरु कुनै बजेट नपरेको भन्दै उनले दुखेसो पोखे ।

अर्कोतिर अर्थमन्त्रीले २२१ अर्ब रुपैयाँ अर्थमन्त्रालयमै राखेको दाबी पनि उनले गरे । 

‘२२१ अर्ब रुपैयाँ अर्थमन्त्रीले राख्नुभएको छ । यत्ति पैसा किन राखेको हो ?,’ घिमिरेले भने, ‘यस अघि अर्थ मन्त्रालयमा ४०/४५ अर्ब राख्ने अभ्यास थियो । कसलाई बाँड्न राखिएको हो ? के गर्न हो ?’

salt training

कमेन्ट गर्नुहोस्