
पर्सामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी ५५ दशमलव ५० प्रतिशत उजुरी टुङ्गाइएको छ । साहुकर र अनुचित लेनदेनपीडितबीच जिल्लाभरिमा नौ सय ५८ वटा उजुरी टुङ्गो लागेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अझै एक हजार एक सय ९५ वटा उजुरी भने सम्बोधन हुन बाँकी छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले पाँच सय सात वटा उजुरी टुङ्ग्याएको थियो । त्यस्तै जिल्ला प्रहरी कार्यालयले आफू मातहत उजुरी आउन थालेपछि पनि सात सय ३१ वटा उजुरीलाई टुङ्गो लगाइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले साहुकर र अनुचित लेनदेन पीडितबीच मेलमिलापका माध्यमबाट अधिंकाश मुद्दा टुङ्ग्याउँदै आइरहेको बताए। “जिल्ला प्रशासन कार्यालयबाट अनुचित लेनदेनसँग सम्बन्धित उजुरी पर्सा प्रहरीमा आएसँगै सात सय ३१ वटा उजुरी टुङ्गो लगाएका छौँ”, उनले भने, “दिनहुँजसो दुवैपक्षसँग छलफल गरेर उजुरीलाई टुङ्गोमा पु¥याउने काम भइरहेको छ ।”
गत माघ १७ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट एक हजार छ सय ५५ वटा अनुचित लेनदेनसँग सम्बन्धित उजुरी प्रहरीमा आएको थियो । त्यस्तै जिल्ला प्रहरी कार्यालयमा पनि थप चार सय ९८ वटा उजुरी परेको थियो । प्रहरीले गत माघ २४ गतेदेखि अनुचित लेनदेनसँग सम्बन्धित उजुरी लिन थालेको थियो ।
नायब उपरीक्षक भारतीले मिटरब्याजसँग सम्बन्धित विषय सामाजिक अपराध भएकाले पनि प्रहरीले दुवै पक्षलाई राखेर सकेसम्म मेलमिलापबाटै उजुरीलाई टुङ्गो लगाउँदै आइरहेको बताए ।
साहुकरले ऋणीबाट रु २४ करोड ७६ लाख ९६ हजार आठ सय ३० बराबरको रकम बिगो दाबी गरेका छन् । तीमध्ये पर्सा प्रहरीका अनुसार मेलमिलापबाट रु १३ करोड ४३ लाख ७६ हजार एक सय ३९ रकमको बिगो टुङ्गो लागेको छ ।
अनुचित लेनदेनसँग सम्बन्धित पाँच वटा मुद्दा भने जिल्ला अदालत पर्सामा दर्ता भएका छन् । प्रहरीले साहुकरबाट अनुचित लेनदेन पीडितलाई १५ बिघा १६ कट्ठा २४ धुर जग्गा फिर्ता गराएको छ ।