
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारले भागबण्डामा नियुक्ति गर्नेगरी आठ देशका राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले रिक्त रहेका आठवटा देशका राजदूत सिफारिस गर्ने निर्णय गरेको हो ।
पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूत सिफारिस गर्ने निर्णय गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले जानकारी दिए ।
त्यस्तै, अमेरिकाका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल र डेनमार्कका लागि सुम्निमा तुलाधर राजदूत सिफारिस भएका छन् ।
यसैगरी डा विजन पन्त बेलायत, पुष्पराज राजकर्णिकार स्पेन, नेत्रप्रसाद तिमल्सेना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरेबियाका लागि राजदूत सिफारिस गरिएको मन्त्री अर्यालले बताए ।
सबै राजदूत राजनीतिक भागबण्डाका आधारमा सिफारिस भएका हुन् । यसअघि सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कोटाबाट राजदूत भएकालाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
००००
चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा मुलुकले रु १३ खर्ब १४ अर्ब ४४ करोड बराबर व्यापार घाटा ब्यहोरेको छ ।
भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले रु १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाखको आयात गर्दा रु एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख बराबरको मात्रै निर्यात गरेको हो ।
००००
कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
उनीहरुलाई काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । प्रहरीले पक्राउ गरेकामा बाँकेको खजुरा गाउँपालिका–८ का २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासीको पूर्व गैडाकोट नगरपालिका–१३ का २६ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिका–१३ का २५ वर्षीय अञ्जिल गुरुङ रहेका छन् ।
००००
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक संसद्को चालू अधिवेशनबाट पारित गर्ने तयारी भइरहेको बताएका छन् ।
मन्त्रालयको नेतृत्व लिएपछि भएरगरेका मुख्य उपलब्धिबारे शुक्रबार जानकारी दिँदै मन्त्री जोशीले यस्तो बताएका हुन् ।
००००
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिट हेर्दाहेर्दैमा परेको छ ।
सर्वोच्च अदालतकी न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले शुक्रबार उक्त रिटलाई हेर्दाहेर्दैमा राखेको हो ।
सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द अधिकारीका अनुसार उक्त रिटलाई हेर्दाहेर्दैमा राखेर असार १८ गतेका लागि पेशी तोकिएको छ ।
००००
सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीका भतिज केशवराज जोशी पक्राउ परेका छन् ।
वैदेशिक रोजगार ठगी प्रकरणमा उनलाई शुक्रबार दिउँसो काठमाडौंको बबरमहलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध महाशाखा प्रमुख एसएसपी सानुराम भट्टराईले लोकान्तरलाई जानकारी दिए ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरू पार्टी स्थापनाको उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट रहेको बताएका छन् ।
पार्टी स्थापनाको दोस्रो वर्ष पूरा भएका अवसरमा आफ्ना सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
पार्टीको वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गरेर पार्टी स्थापनाको उद्देश्य पूरा गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
यसैबीच पार्टी स्थपना दिवसको अवसरमा रास्वपाले पार्टी कार्यालयमा चियापान कार्यक्रम गरेको छ । चियापनमा प्रधानमन्त्रीसहित विभिन्न दलका नेता, सांसदलगायतको उपस्थिति रहेको थियो ।
००००
१४ महिनामा देशभरका ३३ पालिकाका ५० जनप्रतिनिधिले विदेश भ्रमण गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०८० वैशाखदेखि २०८१ असार ५ गतेसम्म देशभरका कूल ३३ पालिकाका ५० जनप्रतिनिधिले विदेश भ्रमण गरेका हुन् ।
उनीहरूले दक्षिण कोरिया, चीन, दुबई, अमेरिका, बेलायत, थाइल्याण्ड, जापान, मलेसिया र केन्यालगायत देशको भ्रमण गरेका छन् । त्यसमध्ये दक्षिण कोरिया र चीन भ्रमण जाने जनप्रतिनिधि सबैभन्दा धेरै छन् ।
००००
राष्ट्रिय सतर्कता केन्द्रले पूर्वाधार निर्माणसँग सम्बन्धित संघीय सरकार तथा प्रदेश सरकारका विभिन्न मन्त्रालयहरूलाई २३ बुँदे निर्देशनसहितको परिपत्र गरेको छ ।
विभिन्न आयोजनाहरूको प्राविधिक परीक्षण गर्दै आएको सतर्कता केन्द्रले बुधबार यस्तो परिपत्र गरेको हो । प्राविधिक परीक्षणबाट देखा परेका अपरिपालनासँग सम्बन्धित २३ बुँदेमा केन्द्रको विमति छ ।
००००
सुनको मूल्य फेरि बढेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक हजार ९०० रुपैयाँले बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
००००
बुटवलको मुख्य बजार क्षेत्र मिलनचोकस्थित डेल्टा सुपर स्टोर (मार्ट)मा आगलागी हुँदा झण्डै ५० करोड रुपैयाँको क्षति भएको छ । मार्टका सञ्चालक घनश्याम पाठकले पूर्ण विवरण नआए पनि ५० करोड बढी क्षति भएको बताए । आगोले भवनका सबै सामान जलेर नष्ट भएका छन् । मार्ट पाँच वर्षअघि सञ्चालनमा आएको थियो ।