२४ जेठ २०८३, आइतबार

दुई खेलमा शतप्रतिशत जीत निकालेको पोर्चुगल समूह विजेता बन्दै दोस्रो चरणमा

असार ९, २०८१
काठमाडौं
दुई खेलमा शतप्रतिशत जीत निकालेको पोर्चुगल समूह विजेता बन्दै दोस्रो चरणमा

जर्मनीमा जारी युरोकप फूटबल प्रतियोगिताअन्तर्गत दुई खेलमा शतप्रतिशत जीत निकालेसँगै पोर्चुगल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको छ ।

शनिवार राति डर्टमुन्डमा भएको खेलमा टर्कीमाथि ३–० गोल अन्तरको सहज जीत निकाल्दै पोर्चुगल अन्तिम १६ मा पुगेको हाे ।

दुई खेलमा लगातार जीत निकालेको पोर्चुगलले ६ अंक जोडेको छ । उ एक खेलअगावै समूह ‘एफ’को विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

पोर्चुगलको जीतमा बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेसले एक–एक गोल गरेका थिए । एक गोल भने पोर्चुगलले उपहार पाएको थियो । टर्कीका डिफेन्डर समेट अक्यादिनले खेलको २८ औँ मिनेटमा आत्मघाती गोल गरेका हुन् ।

फर्नान्डेसले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा खेलको ५५ औँ मिनेटमा गोल गरेका हुन् ।

null

यसअघि सिल्भाले खेलको २१ औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।  

समूह ‘एफ’कै खेलमा शनिबार साँझ जर्जिया र चेक गणतन्त्रले बराबरी खेलेका थिए ।

यो समूहमा एक खेलअगावै ‘हेड टू हेड’का आधारमा पोर्चुगल समूह विजेता बनेको हो । पोर्चुगलले पहिलो खेलमा चेक गणतन्त्रविरुद्ध २–१ गोल अन्तरको संघर्षपूर्ण जीत निकालेको थियो । 

यो समूहमा पोर्चुगलको ६ तथा टर्कीको ३ अंक छ । चेक गणतन्त्र र जर्जियाले भने १–१ अंक मात्र जोडेका छन् । तीनवटै टोलीको अन्तिम १६ मा जाने बाटो बन्द भएको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्