०५ साउन २०८३, मंगलबार

अस्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जीत, सेमिफाइनल आशा जीवितै

असार ९, २०८१
काठमाडौं
अस्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जीत, सेमिफाइनल आशा जीवितै

अफगानिस्तानले बलियो टोली अस्ट्रेलियामाथि ऐतिहासिक जीत निकालेको छ ।

आईसीसी टी–२० क्रिकेट विश्वकपअन्तर्गत आइतवार बिहान भएको सुपर ८ को खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हराएको हो ।

यस जीतसँगै अफगानिस्तानले सेमिफाइनलमा पुग्ने आशा जीवितै राखेको छ ।

कुनै पनि अवसरमा अफगानिस्तानले अस्ट्रेलियालाई हराएको यो पहिलोपटक हो । यसर्थ यसलाई ऐतिहासिक जीत भनिएको छ ।

null 

अफगानिस्तानको जीतपछि सुपर ८ को समूह १ बाट सेमिफाइनल समीकरण रोचक बनेको छ । भारतको २ खेलबाट ४ अंक छ । उसको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो छ । अफगानिस्तान र अष्ट्रेलियाको समान २ अंक छ भने बंगलादेश अंकविहीन रहेको छ ।

अन्तिम खेलहरूमा भारतले अस्ट्रेलिया र अफगानिस्तानले बंगलादेशको सामना गर्नेछन् । अफगानिस्तानले आफ्नो खेलमा जीत दर्ता गर्न सकेमा एक टोलीसँग नेट रनरेटको प्रतिस्पर्धा रहनेछ ।

सेन्ट भिन्सेन्टमा भएको खेलमा अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलिया ४ बल बाँकी छँदै १२७ रनमा समेटियो । अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४१ बलमा ५९ रन बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन् । 

अफगानिस्तानको जीतमा गुलबदिन नैवले ४ विकेट लिए 

त्यसअघि टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेटको क्षतिमा १४८ रन जोडेको थियो । अफगानिस्तानका दुई खेलाडीले अर्धशतकीय पारी खेले । रहमनुल्लाह गुर्बाजले ४९ बलमा ६० रन बनाए । इब्राहिम जाद्रानले ४८ बलमा ५१ रन जोडे ।

अस्ट्रेलियाका प्याट कमिन्सले ह्याट्रिकसहित ३ विकेट लिए । उनको यो लगातार दोस्रो खेलमा ह्याट्रिक हो । योसँगै उनी टी–२० विश्वकपमा दुई ह्याट्रिक लिने  पहिलो बलर बनेका छन् । 

कमेन्ट गर्नुहोस्