१० असार २०८३, बुधबार

चुनावी मनोनयनः गठवन्धनलाई बागीले सतायो, नयाँ शक्तिलाई कांग्रेसको धोका !

कात्तिक २०, २०७४
चुनावी मनोनयनः गठवन्धनलाई बागीले सतायो, नयाँ शक्तिलाई कांग्रेसको धोका !
काठमाडौं, ५ कात्तिक – मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आज मनोनयन दर्ता सम्पन्न भएको छ । हिमाली तथा पहाडी गरेर ३२ जिल्लामा विहान १० बजेबाट शुरु भएको मनोनयन साँझ ५ बजेसकिएको छ ।

अधिकांश उम्मेदवार बाजागाजासहित मनोनयन दर्ता गर्न पुगेका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि ३७ सिट र प्रदेश सभातर्फ ७४ वटा सिटका लागि आउँदो मंसिर १० गते पहिलो चरणको चुनाव हुँदैछ । सरकारले मंसिर १० मा पहिलो र दोस्रो चरणका लागि मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको थियो ।

नेकपा एमाले र माओवादी केन्द्रले वाम तालमेल गरेर मनोनयन दर्ता गराएका छन् । त्यस्तै नेपाली कांग्रेस अधिकांश स्थानमा एक्लै र केही निर्वाचन क्षेत्रमा राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिसँग चुनावी तालमेल गरेको छ । देशभर शान्तिपूर्ण तरिकाले मनोनयन दर्ता सकिएको छ ।


गठवन्धन विरुद्ध माओवादीका वागी उम्मेदवार


गठवन्धनमा आफ्नो भागमा परेको रामेछापमा माओवादी केन्द्रले टिकट वितरण मिलाउन नसक्दा समस्या परेको छ । विनाविभागीय मन्त्री श्यामकुमार श्रेष्ठ गठवन्धनको आधिकारिक उम्मेदवार भएपनि असन्तुष्ट माओवादी नेताहरुले वागी उम्मेदवारी दिएका छन् ।

श्रेष्ठ विरुद्ध पूर्वसभासद लक्ष्मी गुरुङले वागी उम्मेदवारी दिएकी छिन् । त्यस्तै प्रदेशसभातर्फ(क) मा माओवादीका हेन्त पौडेल वागी भएका छन् । सो क्षत्रमा एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल साझा उम्मेदवार बनेकी थिइन् । त्यस्तै –ख) मा माओवादी नेता मैनकुमार मोक्तानले वागी उम्मेदवारी दिएका छन् ।


दिपक मनाङे स्वतन्त्र उम्मेदवार

मनाङबाट प्रदेश सभाका लागि एमालेबाट सिफारिस भएका डन दीपक मनाङेले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले प्रदेशसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

जिल्लाबाट सर्वसम्मत रुपमा सिफारिस भएका मनाङेले अन्तिम समयमा टिकट नपाएपछि स्वतन्त्र रुपमा बागी उम्मेद्वारी दिएका छन् । उक्त निर्वाचन क्षेत्रमा एमालेले खण्डा लामा गुरुङलाई उम्मेदवार बनाएको छ । उनी पनि मनाङेसँगै राप्रपाबाट एमालेमा प्रवेश गरेकी थिइन् ।


कांग्रेस र नयाँ शक्तिको समझदारी उल्टियो


मंसिर १० को चुनावमा रसुवा र गोरखामा कांग्रेस तथा नयाँ शक्तिले चुनावी तालमेल गरेका छन् ।
कांग्रेसले गोरखा दुई र रसुवामा नयाँ शक्तिलाई सहयोग गर्ने निर्णय गरेको थियो । तर कांग्रेसले रसुवामा प्रतिनिधिसभा तर्फ मोहप्रसाद आचार्यलाई उम्मेदवार बनाएर समझदारी तोडेको छ ।

कांग्रेसले प्रदेशसभा तर्फ रसुवाको ख निर्वाचन क्षेत्रमा मात्रै नयाँ शक्तिलाई सघाउने निर्णय गरेको हो ।

अन्तिम समयमा फेरिए एमालेका उम्मेदवार

सोलुखुम्बुमा अन्तिम समयमा आएर एमालेले उम्मेदवार परिवर्तन गरेको छ । एमालेका जिल्ला अध्यक्ष मानविर राइले अन्तिम समयमा आएर प्रदेशसभा तर्फ उम्मेदवार बन्न अस्वीकार गरेपछि एमालेले प्रदेशसभाका लागि उम्मेदवार हेरफेर गरेको हो ।

राइ प्रतिनिधि सभाका लागि जिल्लाबाट सर्वसम्मत सिफारिस भएका थिए । तर सोलुखुम्बुको प्रतिनिधिसभा तर्फको सिट माओवादीको भागमा परेपछि उनलाई प्रदेशतर्फ पठाइएको थियो । राइले उम्मेदवारी दर्ता नगराएपछि एमालेले उत्तम बस्नेतालाई अन्तिम समयमा टिकट दिएको छ । बस्नेत नयाँ शक्तिबाट एमालेमा गएका हुन् ।
हुम्लाको प्रदेश सभा क मा चाहिँ एमालेले उम्मेदवारी दिएको छ । हुम्लाको प्रतिनिधि सभा र प्रदेशसभा दुबै तर्फको सिट माओवादीलाई दिने सहमती भएको थियो । र प्रदेशसभा तर्फ एमालेले उम्मेदवारी दर्ता गराएको छ ।
जाजरकोटको प्रदेश सभा निर्वाचन क्षेत्र क मा एमालेले माओवादीलाई सिट दिएपछि हुम्लामा एमालेले पाएको हो ।

बाबुराम र नाराणकाजीको भिडन्त

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठले एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका छन् । प्रतिनिधि सभा निर्वाचनका लागि यी दुई नेताले गोरखा २ बाट उम्मेदवारी दिएका हुन् ।

बाम गठबन्धनमा गएका भट्टराईले गोरखा २ निर्वाचन क्षेत्र नपाएपछि गठबन्धन नै छोडेका हुन् । भट्टराई नेपाली कांग्रेसको समर्थनमा चुनावी मैदानमा छन् । श्रेष्ठ चाहिँ वाम गठबन्धनबाट उम्मेदवार बन्दै छन् ।

माओवादी छोडेर गएका भट्टराइले श्रेष्ठको कारणले गठबन्धनबाट टिकट पाएनन् । गोरखा दुईमा भट्टराईले दुई पटक चुनाव जितेका थिए । उनीहरुबीचको प्रतिस्पर्धा तीव्र हुने अनुमान गरिएको छ । स्थानीय चुनावमा नेपाली कांग्रेस बहुमत स्थानीय तहमा जितेको छ ।

काठमाडौंबाट हारेका भट्टराई ताप्लेजुङमा

काठमाडौंबाट दुई पटकसम्म चुनाव हारेका एमाले सचिव योगेश भट्टराई यसपालिको निर्वाचनमा ताप्लेजुङ पुगेका छन् । उनले एमाले माओवादी गठबन्धनको तर्फबाट ताप्लेजुङमा प्रतिनिधिसभा तर्फ उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंमा दुई पटकसम्म हारेपछि सुरक्षित बन्नको लागि उनी ताप्लेजुङ पुगेका हुन ।

लिम्बुहरुको बसोबास रहेको ताप्लेजुङमा कांग्रेसले पनि गैह्र लिम्बुलाई निर्वाचनमा उठाएको छ । अघिल्ला निर्वाचनहरुमा कांग्रेस र एमालेका बीच प्रतिस्पर्धा हुने गरेको थियो ।

माओवादीका तीन हाइप्रोफाइल

माओवादी केन्द्रका तीन जना हाइ प्रोफाइल नेता पहिलो चरणकै चुनावमा उम्मेदवार बनेका छन् । माओवादी नेताहरु वर्षमान पुन र जनार्दन शर्मा पहिलो चरणमै उम्मेदवार बनेका हुन् । पुन रोल्पा र शर्मा रुकुमबाट उम्मेदवार बनेका छन् । त्यस्तै माओवादी नेता शक्ति बस्नेत जाजरकोटबाट उम्मेदवार बनेका छन् ।

एउटै व्यानरमा एमाले र माओवादी

वाम एकता गरेका नेकपा एमाले र माओवादी केन्द्र मनोनयनका लागि एकै व्यानरमा जिल्ला निर्वाचन कार्यलयमा पुगेका छन् । ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा एमाले र माओवादी केन्द्रका संयुक्त उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्