
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र सत्ता स्वार्थ छाडेर पार्टी संगठन बलियो बनाउने र सत्तामा जान अनेकन बाटोको खोजीमा रहेका नेताहरू दुई धारमा उभिएका छन्।
पार्टी संस्थापन पक्षका केही सांसदहरू चाँडै सत्तामा जाने मौका पर्खेर बसे पनि महामन्त्री गगन थापासहितको समूहले सरकारको सपना नदेखी पार्टी संगठन मजबुद बनाउनुपर्ने पक्षमा रहेका हुन् ।
वर्तमान पाँच दलीय गठबन्धनको सरकारभित्र देखिएको असमझदारीलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसले सत्तारोहणको अवसरका रूपमा लिएको छ। तर, सोही दलका महामन्त्री गगनकुमार थापाले सरकारतिर ध्यान नदिई २०८४ को निर्वाचन जित्ने गरी काम गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
सरकारको गतिविधिप्रति खरो आलोचना गर्दै आएका महामन्त्री थापाले सरकार चलाउने जिम्मा अहिले सरकारमा रहेका दलहरूलाई नै छोडिदिन आग्रह गरेको खबर नेपाल समाचारपत्रमा छापिएको छ ।