२५ जेठ २०८३, सोमबार

आसन र भाषणमा मात्रै रमाउन नसक्ने भन्दै रास्वपा प्युठानका संयोजकले दिए राजीनामा

असार १२, २०८१
काठमाडौं
आसन र भाषणमा मात्रै रमाउन नसक्ने भन्दै रास्वपा प्युठानका संयोजकले दिए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्युठान संयोजक सुमन सुवेदीले पार्टी परित्याग गरेका छन् । उनले आसन र भाषणमा रमाउन नसकेको भन्दै मंगलबार पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनले फेसबुकमार्फत् राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको घोषणा गरेका हुन् । 'सानो मान्छेलाई ठूलो पद झन् बेस्सरी भारी भयो । आसन र भाषणमा मात्रै रमाउन मनले मानेन,’ उनले लेखेका छन्, 'आजको मितिदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जानकारी गराउन चाहन्छु।'

फरक देखिन र बोल्न सिकेर होइन, फरक र सकारात्मक कर्मको अभ्यासले देश सिँगार्नु जरुरी भएको उनले बताएका छन् । 

यस्तो छ उनको स्टाटस

आजको मितिदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जानकारी गराउन चाहन्छु। 
आफू जिम्मेवारीमा हुँदा पदको कहींकतै पनि दुरुपयोग नहोस् भन्ने कुरामा अत्यन्तै सजक रहें, तैपनि कहीं कतै केही कमजोरी भएको भए यहाँहरू सबैसँग माफी माग्न चाहन्छु । 

समाज, मेरो बुझाइ र मेरो स्वभावमा कँहीकतै केही समस्या अवस्यै छ, त्यसैले मलाई म पार्टीगत राजनीतिको लागि योग्य होइन भन्ने लाग्यो । अझ सानो मान्छेलाई ठूलो पद झन् बेस्सरी भारी भयो । आसन र भाषणमा मात्रै रमाउन मनले मानेन ।  यस दौरान केही आशा गरेर गुनासो गर्नेहरू थुप्रै भेटिनुभयो, मैले कसैको पनि गुनासो सुन्नेबाहेक केही गर्न सकिनँ । यो नै मेरो सबैभन्दा ठूलो कमजोरी रह्यो। 

यो कमजोरी बोकेर म पार्टीको नेता बन्न चाहिनँ। अब धेरै साथीहरूलाई लाग्ला राजनीतिमा प्रगति गर्न धैर्यता चाहिन्छ भनेर, आफ्नो प्रगति र उन्नतिको लागि राजनीतिक पार्टीको प्रयोग सबैभन्दा ठूलो बेइमानी हो। 

हामीले आफ्ना लागि केही मागेकै छैनौं भने धैर्यताको कुनै जरुरी छैन।  बस् देश फेरिनु जरुरी छ, त्यसका लागि हामी फेरिनु आवश्यक छ। 

फरक देखिन र बोल्न सिकेर होइन फरक र सकारात्मक कर्मको अभ्यासले देश सिंगार्नु जरुरी छ। 

सकारात्मक परिवर्तनको पक्षमा निरन्तर लाग्नु हुने सम्पूर्णमा हार्दिक सम्मान र समर्थन। 
जय देश।।

salt training

कमेन्ट गर्नुहोस्