
कारागार व्यवस्थापन विभागले कैदीबन्दीको कैदकट्टा सिफारिसमा कैफियत भए उजुरी दिन अनुरोध गरेको छ । यस वर्ष कैदकट्टाका लागि सिफारिस गरिएका ६२० जना कैदीबन्दीबारे कुनै कैफियत भए उजुरी दिन विभागले आग्रह गरेको हो ।
कैदकट्टा नियमावली, २०७६ को नियम ६(३) मा भएको व्यवस्था बमोजिम उल्लेखित कैदीबन्दीको कैदकट्टा सिफारिस गर्ने सम्बन्धमा कुनै उजुरी तथा गुनासो भए विभागमा दर्ता गर्न सार्वजनिक अनुरोध गरिएको विभागका निर्देशक कमलप्रसाद पाण्डेले जानकारी दिए ।
उनका अनुसार फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम ५० प्रतिशत कैद भुक्तान गरेका पाँच सय ८६ जना र ज्येष्ठ नागरिक ऐन, २०६३ दफा १२ को व्यवस्था बमोजिम कैद भुक्तान गरेका तीन जना छन् ।
कैदीबन्दीको कैदकट्टा सम्बन्धमा कुनै उजुरी तथा गुनासो भए तथ्य र प्रमाणसहित विभागमा उपस्थित भई वा विभागको इमेल ठेगाना [email protected] मा दर्ता गराउन सकिने छ ।
यसरी उजुरी गर्ने समय असार १५ गतेसम्म तोकिएको विभागले जनाएको छ ।