
क्यानबेरा–अस्ट्रेलियाका प्रधानमन्त्री एन्थाेनी एल्बनिजले अमेरिकासँग भएको सम्झौताका कारण विकिलिक्सका संस्थापक जुलियन असान्जको लामो कानूनी सङ्घर्ष समाप्त भएकोमा खुसी व्यक्त गरेका छन् ।
अमेरिकाको सपुर्दगीविरुद्ध लन्डनको उच्च सुरक्षा भएको बेलमार्श जेलमा पाँच वर्षभन्दा बढी समय बिताएपछि असान्ज आफ्नो गृह देश अस्ट्रेलिया फर्कने उडानमा छन् ।
अस्ट्रेलियाका ५२ वर्षीय नागरिक असान्जलाई अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी गोप्य सूचना प्राप्त र प्रसार गरेको अभियोग लगाइएको हो ।
‘म अत्यन्त खुसी छु । यो परिणाम अत्यधिक अस्ट्रेलियालीहरूले हेर्न चाहेको म विश्वास गर्दछु । असान्जको सङ्लग्नता र गतिविधिको बारेमा सबैको फरक–फरक विचार छन् तर उनीहरू यस लामो कानूनी गाथाको अन्त्य भएकोमा र आफ्नो परिवारसँग पुनर्मिलन गर्न सक्षम भएकोमा खुसी हुनेछन्,’ प्रधानमन्त्री अल्बानिजले संसदमा भने ।
अपिल सम्झौताअनुरुप बुधबार प्रशान्त महासागरमा अवस्थित उत्तरी मारियाना आइल्यान्डको अदालतले असान्जलाई षड्यन्त्रसम्बन्धी एउटा मात्र मुद्दामा दोषी ठहर गर्दै तत्काल रिहा गर्ने आदेश दिएको छ । उनलाई अदालत पहिले नै जेलमा बिताइसकेको अवधिको सजाय सुनाएको हो । अदालतको फैसलापछि उनी स्वतन्त्र रुपमा आफ्नो देश फर्कने भएका छन् ।
‘असान्जको मुद्दाको समाधान धैर्य र दृढ कामको परिणाम हो र यस कामप्रति म गर्व गर्छु,’ अल्बानिजले भने ।