काठमाडौँ, ६ कात्तिक- निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुन सोही प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ । उम्मेदवारले त्यस्तो प्रमाण पेस नगरे उम्मेदवारी रद्द हुने उनले बताए ।
समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार हुन र त्यस्तो व्यक्तिलाई मनोनयन गर्न नपाइने कानुनी व्यवस्था छ । एक व्यक्तिले एक पटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्नेछ । एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएमा त्यस्ता उम्मेदवारको सबै क्षेत्रको उम्मेदवारी बदर हुने व्यवस्था छ ।