
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ३ मुख्य दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।
लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ मा प्राप्त संशोधनबारे उनले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् ।
मन्त्रालयमा आज भएको छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका महेश बर्तौला र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे सहभागी थिए ।
सो क्रममा मन्त्री भण्डारीले लगानी सहजीकरणसम्बन्धी कानून लचकताका साथ संसद्बाट पास गर्न प्रमुख सचेतकहरूसँग आग्रह गरेका हुन् ।
लगानीमैत्री वातावरण बनाउन सबै राजनीतिक दलको सहकार्य आवश्यक रहेकाले सहयोग गर्न मन्त्री भण्डारीले सचेतकहरूलाई आग्रह गरे ।
कांग्रेसका प्रमुख सचेतक लेखकले आफ्नो पार्टीका संशोधनकर्ता सांसदहरूसँग छलफल गरेर सहजीकरणको वातावरण बनाउने प्रतिबद्धता जनाए । उनले लगानी सहजीकरणका लागि केही बुँदा संशोधन गर्न आवश्य रहेको बताए ।
एमालेका प्रमुख सचेतक बर्तौलाले उद्योग कलकारखाना स्थापनाको विषय सबै दलको साझा ऐजेण्डा भएकाले सत्ता पक्ष र विपक्ष नभनीकन दलीय स्वार्थभन्दा माथि उठेर कानून निर्माणमा जुट्नुपर्ने बताए । केही जटिल बुँदामा संशोधन आवश्यक रहेको उनको भनाइ थियो ।
माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले संशोधन प्रस्ताव राख्नु उचित भए पनि समय अभावका कारण नगरी नहुने विषय मात्र संशोधन गरेर अगाडि बढ्नुपर्ने बताए ।
छलफलका क्रममा वनसँग सम्बद्ध निकुञ्ज र मध्यवर्ती क्षेत्र तथा जग्गा हदबन्दीका विषयमा संशोधन जरुरी रहेको औंल्याइएको थियो ।
उक्त छलफलमा सरोकारवाला मन्त्रालयका सचिवसमेत सहभागी थिए ।