
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रिया र मापदण्ड तय गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले शनिबार जारी गरेको सूचना अनुसार, पार्टीको सर्वोच्च पद 'सभापति' का लागि उम्मेदवारी दिन ५१ जना समर्थक अनिवार्य गरिएको छ ।
आयोगका अनुसार सभापति पदका आकांक्षीले ५१ हजार रुपैयाँ उम्मेदवारी शुल्क बुझाउनुपर्नेछ भने प्रस्तावकका रूपमा एक जना र समर्थकका रूपमा ५१ जना प्रतिनिधि रहनुपर्नेछ ।
यस्तै, केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिन २१ जना समर्थक आवश्यक पर्नेछ । केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ शुल्क तोकिएको छ भने प्रस्तावकको रूपमा एक जना सदस्य हुनुपर्नेछ ।
पार्टीका अन्य पदाधिकारीहरूको हकमा भने ४१ हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ । पदाधिकारीका लागि पनि प्रस्तावक एक जना र समर्थक २१ जना नै हुनुपर्ने व्यवस्था छ । निर्वाचन आयोगले प्रस्तावक र समर्थक बस्ने व्यक्तिहरूको नाम अनिवार्य रूपमा पार्टीको 'प्रतिनिधि नामावली' सूचीमा भएको हुनुपर्ने सर्त राखेको छ ।
उम्मेदवारी दर्ताका लागि प्रतिनिधिहरूले निर्धारित शुल्कसँगै विभिन्न कागजातहरू पनि पेश गर्नुपर्नेछ । जसमा भरिएको मनोनयन पत्र, शुल्क बुझाएको नगदी रसिद वा बैंक भौचर, आफूलाई कुनै अनुशासनको कारबाही नभएको स्व-घोषणापत्र, पार्टी सदस्यताको प्रमाणपत्र र दुई प्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन के.सी. ले जानकारी दिए । रास्वपाको महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ ।