
नयाँ रणनीति बनाउन नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला शुरू भएको छ ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा शुक्रबार बसेको बैठकले राष्ट्रिय भेला बोलाउनेबारे निर्णय गर्ने एक नेताले जानकारी दिए ।
विशेष महाधिवेशनबाट आएको नेतृत्वले आफूहरूलाई नसमेटेको भन्दै असन्तुष्ट समूहले देशभर भेला गरेको थियो ।
१४औँ महाधिवेशनबाट निर्वाचित सदस्यलाई समेटेर १५औँ महाधिवेशन आयोजक समिति गठन गर्नुपर्नेलगायत माग इतरपक्षको छ ।
सभापति गगन थापाले १४औँ महाधिवेशनका सबैलाई केन्द्रीय समितिमा समेट्न नसकिने बताउँदै आएका छन् । इतरपक्षको भेलाअघि खड्काले केही दिन पहिले कांग्रेस महामन्त्री गुरुराज घिमिरेसँग छलफल गरेका थिए ।
इतर समूहले आफूहरूका सरोकार पूरा नभए असोज महिनामा निर्धारित १५औँ महाधिवेशनमा सहभागी हुन नसकिने बताउँदै आएको छ ।
असन्तुष्ट समूहले काठमाडौंको महाराजगञ्जमा छुट्टै सम्पर्क कार्यालय खोल्ने समेत तयारी गरेको छ ।