११ असार २०८३, बिहीबार

खोटाङमा कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता हुने

असार १८, २०८१
खोटाङ
खोटाङमा कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता हुने

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा यही असार–२० गतेदेखि २५ गतेसम्म कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोग तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको हो ।

    प्रतियोगिताको विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, फरवार्ड, उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षकलाई जनही रु तीन हजार प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट प्लेयर अफ द टुर्नामेन्ट र हाई स्कोररलाई जनही रु पाँच हजारसहित ट्रफी प्रदान गरिने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रमेश राईले जानकारी दिए ।  

    प्रत्येक खेलको म्यान अफ द म्याचलाई जनही रु दुई हजारसहित मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन आउने खेलाडीलाई गाडी भाडा तथा खाना र बासको व्यवस्था गरिएको छ ।

    प्रतियोगिता सम्पन्न गर्न रु ४२ लाख लागत अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न प्रदेश सरकारको बजेटले मात्रै नपुग्ने भएकाले खोटाङको दुई नगरपालिका र आठ गाउँपालिकालाई आर्थिक सहयोग माग गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

    प्रतियोगितामा खोटाङका महिला रेफ्री शशी राईसहित १५ जना महिला रेफ्री रहनेछन् । सबै प्रतियोगिता महिला रेफ्रीले खेलाउने जिल्ला फुटबल सङ्घ खोटाङका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिए ।। 

    प्रदेशस्तरीय फुटबल प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडी सहभागी हुनेछन् । 

salt training

कमेन्ट गर्नुहोस्