
जेठ २९ गते नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिम दुवै जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख र सरोकारवालाले निर्माण कम्पनी र ठेकेदारलाई निर्देशन दिए, 'नारायणगढ–बुटवल सडकखण्डमा अवरोध भए एक घण्टाभित्र सञ्चालनमा ल्याउनू ।' ठेकेदार र निर्माण कम्पनीले हुन्छ भन्दै प्रतिबद्धता जनाए।
यो निर्देशन दिएको २०औँ दिनमै प्रतिबद्धता उल्लङ्घन भयो। नारायणगढ–बुटवल सडकखण्डको चोरमारा क्षेत्रमा १२ घण्टासम्म सडक जाम भयो। रातो माटो भएको ओरालो बाटोमा हल्का पानी परेपछि गाडी चल्नै सकेनन्। '१२ घण्टा जाम हुँदा पनि चिनियाँ ठेकेदार कम्पनीले बाटो खुलाउन कुनै प्रयास गरेन, फोन गर्दा धेरैको मोबाइल ‘अफ’ छ। ‘अन’ भएकाहरूको पनि फोन नै उठ्दैन,’ ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक अच्युत आचार्यले भने ।
आचार्यका अनुसार रातभरि काम गरेर अप्ठ्यारो र चिप्लो बाटोभरि गिटी बालुवा हालेर ग्राभेल गर्ने सहमति भएको थियो तर अझै पनि भने अनुसार काम गरिएन।
गत वर्ष दोस्रोपटक थपिएको म्याद सकिन अब केही हप्ता मात्र बाँकी छ। साउन ८ गते आयोजनाको म्याद सकिने हो। यो अवधिमा सबै काम सक्नुपर्ने थियो तर अहिलेसम्मको भौतिक प्रगति ५२ प्रतिशत मात्र रहेको ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनका प्रोजेक्ट म्यानेजर राकेश झाले जानकारी दिए। आजको गोरखापत्र दैनिकमा खबर छ ।