
निरन्तरको वर्षापछि बाढीले हुम्लाका विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ ।
बाढीले आज दिउँसो उत्तरी नाम्खा र सिमकोट गाउँपालिकालाई जोड्ने हेप्काखोलास्थित काठेपुलसमेत बगाएको छ ।
नाम्खा गाउँपालिका–१ हेप्काखोलाको सो पुल बगाएपछि आवतजावतमा समस्या भएको हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
विसं २०७४ साउनमा दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित यहाँ पक्की पुल निर्माण गर्ने सम्झौता भएको थियो, त्यो पनि अधुरो छ ।
स्थानीयको सहजताका लागि बनाइएको अस्थायी काठेपुलसमेत बगाएपछि समस्या भएको चन्दले बताए ।
यही पुल भएर मानसरोवर कैलाश दर्शन गर्न र सदरमुकाम सिमकोटबाट उत्तरी नाम्खा गाउँपालिकाका साथै चीनसँग जोडिएका हिल्सा, लिमी, लाप्चा जान पनि यही पुल तर्नुपर्ने हुन्छ ।
एमएस जेभी धुलिखेल, काठमाडौंले दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने भनेको पक्की पुल सात वर्षसम्म अधुरै रहेको र अस्थायी पुलसमेत बगाएपछि निकै समस्या भएको स्थानीयको गुनासो छ ।
बाढीले चङ्खेली गाउँपालिका–६ मासिधारा र मेल्छाम गाउँमा रहेका खेतबारीसमेत क्षति गरेको प्रहरी निरीक्षक चन्दले बताए ।