
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै १९ दशमलव ३ प्रतिशतले विप्रेषण बढेको बताएको छ ।
बुधवार यस्तो तथ्यांक जारी गर्दै अघिल्लो आवको सोही अवधि भन्दा अहिले रेमिट्यान्समा वृद्धि भएको राष्ट्र बैंकको भनाइ छ ।
त्यस्तै जेठ मसान्तसम्म कूल विदेशी विनिमय सञ्चिती १९ खर्ब ६७ अर्ब रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार आयात १ दशमलव ८ प्रतिशतले घटेको छ भने निर्यात ३ प्रतिशतले कम भएको छ ।
त्यस्तै समग्र वस्तु व्यापार घाटा १ दशमलव ७ प्रतिशतले कम भएको केन्द्रीय बैंकले जनाएको छ ।
वार्षिक बिन्दूगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४ दशमलव १७ प्रतिशत छ ।
बैंकको तथ्यांकअनुसार जेठ मसान्तसम्म सरकारले ११ खर्ब ८१ अर्ब खर्च गरेको छ भने राजश्व परिचालन जम्मा ९ खर्ब १९ अर्ब रहेको छ ।
यो बीचमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९ प्रतिशतले बढेको र निजी क्षेत्रमा प्रवाहित कर्जा ५ दशमलव १ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।