
राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीले रवि थापाको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
संघका अध्यक्ष विकास बस्नेतको नेतृत्वको टोलीले बिहीबार संघका पूर्वसदस्य थापाको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेको हो ।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालसहित प्रहरी प्रमुखलाई बुझाएको पत्रमा घटनालाई नजरअन्दाज नगर्न आग्रह गरिएको अध्यक्ष बस्नेतले बताए ।
उनले दोषीलाई तत्काल पक्राउ नगरिए अन्य संघर्षका कार्यक्रममा युवा संघ उत्रिन बाध्य हुने चेतावनी दिए ।
बुटवल–७ निवासी थापामाथि गत जेठ २ गते कालिकानगरमा रहेको एक रेष्टुरेण्टमा छुरा प्रहार भएको थियो ।
गम्भीर घाइते रविको डेढ महिना लामो उपचारमै रहेको अवस्थामा यही असार १८ गते निधन भएको हो ।
मृतक थापा राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व सदस्य हुन् ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ अर्यालले प्रहरी अभियुक्त नजिक पुगेको बताउँदै छिटो भन्दा छिटो पक्राउ गरी सार्वजनिक गर्ने आश्वासन दिए ।
युवा संघलाई विरोधका कार्यक्रमसम्म पुग्नुपर्ने अवस्था नआउने गरी प्रहरीले काम गरिरहेको रुपन्देहीका प्रहरी प्रमुख रञ्जीतसिंह राठौरले बताए ।