
निवर्तमान प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तेस्रोपटक प्रधानमन्त्री हुँदाको साढे १८ महिनामा देश र जनताको सेवामा समर्पित भएर काम गरेको बताएका छन् ।
नयाँ प्रधानमन्त्रीमा केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि प्रचण्डले यस क्रममा सहयोग गर्ने मन्त्री सांसद सदस्यसहितलाई धन्यवाद पनि दिएका छन् ।
‘तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर मिल्यो,’ प्रचण्डले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘मेरो नेतृत्वको सरकार सफल पार्न महत्त्वपूर्ण भूमिका खेल्नुहुने माननीय मन्त्रीज्यूहरू, सङ्घीय संसद्का माननीय सदस्यहरू, संवैधानिक आयोगका पदाधिकारीज्यूहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायत सम्पूर्ण राजनीतिक दलहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकाय, स्वकीय र निजी सचिवालय टीम, निजी क्षेत्र, कानून व्यवसायीहरू, बौद्धिक क्षेत्र, नागरिक समाज, सञ्चारकर्मी, सामाजिक संघसंस्था, अन्तर्राष्ट्रिय समुदाय, गैरआवासीय नेपालीहरू लगायत आम जनसमुदायमा सहृदय धन्यवाद व्यक्त गर्दछु।’
असार २८ गते विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए ।