
काठमाडौं, ८ कात्तिक — दुईजना साध्वीलाई बलात्कार गरेको अभियोगमा २० वर्षे कारावास सजाय भोगिरहेका डेरा सच्चा सौदा प्रमुख राम रहीमविरुद्ध इन्फोर्समेन्ट डाइरोक्टेरेट (ईडी) ले जाँचबुझ शुरु गरेको छ ।

ईडीका अधिकारीहरूले पञ्चकूला एसआईटीकहाँबाट दुईवटा ठूला झोलामा कागजात भरेर लगेका छन् ।
ती कागजातमा सात राज्यमा रहेको डेराको सम्पत्ति, लेनदेन र ब्याजमा दिइएको करोडौं रकमसँग जोडिएका दस्तावेज संलग्न छन् ।
अगस्ट २५ तारिखमा बाबालाई सजाय भएपछि डेराका कागजात नष्ट गरिएका थिए । केही कागजात लिएर हनीप्रीत भागेकी थिइन् । तर उपलब्ध सबै कागजात अब ईडीको नियन्त्रणमा छ ।
जमीनसम्बन्धी कागजातका अलावा संस्थाहरूको कीर्ते बिल र करोडौं रुपैयाँको लेनदेन विवरण यसमा संलग्न छ ।
डेराका विशेष अनुयायीहरूको नामबाट बनाइएका फर्मका कागजात पनि यसमा संलग्न छ ।
उता सीबीआईको टीम छिट्टै अम्बाला जेल जाँदैछ । त्यहाँ पञ्चकूलामा भएका दंगाहरूका चार आरोपितमाथि सोधपुछ गरिनेछ र उनीहरूलाई नपुंसक बनाइएको विषयमा बयान लिइनेछ ।
राम रहीमले उनीहरूलाई नपुंसक बनाएको आरोप छ । हरियाणा प्रहरीले गराएको मेडिकल जाँचमा यसको पुष्टि भएको छ तर सीबीआई छुट्टै मेडिकल जाँच गराउँदैछ ।
हरियाणा प्रहरीले हार्ड डिस्क रिकभर गरेर डाटा ईडीलाई सुम्पिनेछ । यो डिस्क प्रहरीले डेराबाट फुटेको अवस्थामा बरामद गरेको थियो ।
यसमा रुपैयाँको लेनदेनको जानकारी त छ तर पूरै सफा छैन ।
एजेन्सी