
काठमाडौं, ८ कात्तिक — अमेरिकासमेत संसारभरि खलबली मच्चाउने खतरनाक आणविक क्षेप्यास्त्र एसएटीएएन२ लाई रुसले परीक्षण गर्ने भएको छ ।

रुसी रक्षा प्रमुख भ्यालरी गेरासिमोभले यसको जानकारी दिएका छन् ।
रुसी सञ्चारमाध्यमका अनुसार, प्रतिसेकेन्ड सात किलोमिटरको गतिमा उड्ने यो क्षेप्यास्त्रको रेन्ज १० हजार किलोमिटर छ । एकचोटिको प्रहारमा यसले फ्रान्सको क्षेत्रबराबरको भागलाई ध्वस्त पार्न सक्छ ।
यसको स्पीडको सामना गर्दा अमेरिकाका एन्टी मिसाइल सिस्टमहरू पनि फेल हुने विश्वास गरिएको छ । मिडियामा यो क्षेप्यास्त्रको तस्वीर पोहोर साल आएको भएपनि यसको परीक्षणका बारेमा केही बताइएको थिएन ।
रुसी रक्षाप्रमुखले यो नै संसारको सबभन्दा शक्तिशाली क्षेप्यास्त्र भएको दाबी गरेका छन् ।
नाटोले यसलाई शैतान२ नाम दिएको हो जबकि रुसमा यसको नाम आरएस २८–सर्मत छ ।
सूत्रहरूका अनुसार, यसै वर्षको अन्त्यसम्ममा रुसले पश्चिमी भागमा रहेको प्लसेसेट परीक्षण मैदानमा यसको परीक्षण गर्न सक्छ । परीक्षणका सबै तयारी पूरा भइसकेका छन् ।
समाचारहरूका अनुसार, रुसको यो क्षेप्यास्त्रको तुलनामा हिरोशिमा र नागासाकीमा खसाइएको बम खेलौना मात्र हो ।
रुसको मिसाइलले अमेरिका र नाटोको मुटु हल्लाएको छ । रुसले नाटोका सदस्य रहेका बाल्टिक क्षेत्रका देशमा आक्रमण गरेमा तिनीहरू ३६ घन्टाभित्र सिद्धिनेछन् ।
एजेन्सी