
काठमाडौं, ८ कात्तिक — सामाजिक सञ्जालका कारण सञ्चार र संवादमा सुविधा त भएको छ तर कहिलेकाहीँ असुविधा पनि पुग्न जान्छ ।

प्यालेस्टाइनका एक व्यक्तिले अरबी भाषामा गरेको एक पोस्टका कारण जेल जानुपरेको छ । ती व्यक्तिले एक निर्माणाधीन स्थानमा राखिएको बुलडोजरसँग आफ्नो तस्वीर लिएर त्यसलाई फेसबूकमा पोस्ट गरे ।
तस्वीरका साथ उनले गूड मर्निङ लेखे । फेसबूकले त्यसको अनुवाद हिब्रु भाषामा ‘उनीहरूमाथि आक्रमण गर’ भनेर गरिदियो । अनि अंग्रेजीमा चाहिँ ‘उनीहरूलाई हानि गर’ भनेर राखिदियो ।
त्यसपछि इजरायली प्रहरीले यो पोस्ट पढेर उक्त व्यक्तिलाई पक्राउ गरी लग्यो । उसले प्रहरीलाई सबै कुरा बुझाएपछि बल्ल उसलाई थुनामुक्त गरियो ।
इजरायलको स्थानीय पत्रिका हार्ट्जमा छापिएको खबरअनुसार, यो घटना अघिल्लो हप्ता भएको थियो । उक्त व्यक्तिले विवादास्पद पश्चिमी किनारामा उभिएर यो सन्देश पोस्ट गरेकाले पनि प्रहरीको शंका उसमाथि गएको हो ।
आतंकवादी आक्रमणका लागि बुलडोजरको उपयोग हुनसक्ने आशंकामा प्रहरीले उनलाई पक्रिएको बतायो ।
घटनाक्रम सार्वजनिक भएपछि फेसबूकले माफी मागेको छ ।
कम्पनीले स्वतः अनुवाद एल्गोरिदममा लगातार सुधार गरिएको र यस्ता गल्ती फेरि नदोहोरिने बतायो ।
एजेन्सी