
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले क्रिप्टोकरेन्सी व्यवसायबारे चेतावनी दिँदै यसले मुलुकको धेरै विद्युत् आपूर्ति समाप्त गरेको र क्षेत्रीय ऊर्जा अभाव निम्त्याउने जोखिममा पारेको बताएका छन् ।
रुस क्रिप्टोकरेन्सी व्यवसाय हुने विश्वका शीर्ष स्थानममा पर्छ । यसमा ह्याङ्गर वा गोदामहरूमा राखिएका हजारौँ कम्प्युटरका अपरेटरहरूले नयाँ क्रिप्टोकरेन्सीको बदलामा लेनदेनहरू मान्य गर्छन् ।
यद्यपि क्रेमलिनलाई यो अनियमित उद्योगलाई लिएर आशङ्का छ र नियन्त्रणलाई कडा बनाउन कानूनले काम गरिरहेको छ ।
'मुलुकमा कूल विद्युत् खपतको करिब एक दशमलव पाँच प्रतिशत क्रिप्टोकरेन्सी व्यवसायद्वारा प्रयोग भइरहेको छ,' सरकारी अधिकारीहरूसँग टेलिभिजनमा भएको बैठकमा पुटिनले बुधबार भने, 'र यो आँकडा लगातार बढिरहेको छ । हामीले यहाँ ध्यान दिनुपर्ने र चिन्ताजनक कुरा के हो भने क्रिप्टोकरेन्सी व्यवसायका लागि विद्युत् खपतमा अनियन्त्रित वृद्धिबाट केही क्षेत्रमा ऊर्जा घाटा निम्त्याउन सक्छ । वास्तवमा यो मुद्दा गम्भीर छ र यसको परिणाम गम्भीर हुनसक्छ।'
उनका अनुसार तीव्र क्रिप्टोकरेन्सी व्यवसायका कारण तीन साइबेरियाली क्षेत्रमा यसअघि नै विद्युत् अभाव भइसकेको छ ।
उनले रुसले यो समस्याको समाधान कसरी गर्नुपर्छ वा यो व्यवसायको गतिविधिमाथि प्रतिबन्ध लगाउने प्रस्ताव गर्नुभएको थियो भन्नेबारेमा केही बताएनन् तर ‘समयमै निर्णय’ लिनुपर्ने धारणा राखे ।
रुसी सांसदहरूले आगामी साता मुलुकमा क्रिप्टोकरेन्सीलाई नियमित गर्न प्रमुख विधेयकमाथि छलफल गर्नेछन् । विधेयक मस्यौदामा स्वीकृत कम्पनीहरूमा ठूलो मात्रामा व्यवसाय सीमित गर्ने र ऊर्जा आपूर्तिमा दबाब आए सरकारलाई केही क्षेत्रमा यस व्यवसयामाथि प्रतिबन्ध लगाउन अनुमति दिनेछ ।