
काठमाडौं, ८ कात्तिक — चीनले पुरानो परम्परा तोड्दै सी चिनफिङको उत्तराधिकारी घोषणा नगरिकनै नयाँ स्थायी समिति बनाएको छ ।

यसबाट आगामी पाँच वर्षका लागि चीनमा सीको स्थिति थप बलियो भएको छ । चीनलाई विश्वको पहिलो राष्ट्र बनाउन कम्युनिस्ट पार्टीले सीलाई नै पत्याएकाले उत्तराधिकारी घोषणामा हतारो नगरेको अनुमान लगाइएको छ ।
चीनको सबभन्दा शक्तिशाली स्थायी समितिका नयाँ सदस्यमध्ये कोही नै सीका उत्तराधिकारी हुन सक्छन् तर को भन्ने प्रस्ट छैन ।
चिनियाँ नेताले १० वर्षसम्म मात्र कार्यकाल चलाउन पाउँछन् । तर सी पार्टी प्रमुख र सेना प्रमुखका रूपमा कायम रहिरहनेछन् ।
सन् २०१२ का सत्तामा आएपछि सी धेरै महत्त्वपूर्ण पदहरूमा बसिसकेका छन् ।
उनले भ्रष्टाचारविरोधी अभियान पनि चलाएका थिए जसकारण लाखौं अधिकारीहरू अनुशासित भएका थिए ।
सीको विचारधारालाई पार्टीको विधानमा समावेश गरेर उनलाई माओ र देङकै दर्जामा पु–याइएको छ । सी चिनफिङ थटका प्रमुख सिद्धान्त यस्ता छन् :
सम्पूर्ण एवं गहिरो सुधार र नयाँ विकासशील विचारलाई प्रोत्साहन ।
मनुष्य र प्रकृतिका बीच सामञ्जस्यपूर्ण जीवनको वाचा । यो वातावरण संरक्षणमा सुधारको कोशिश हो र चीनको ऊर्जा आवश्यकताका लागि नवीकरणीय ऊर्जा आपूर्तिको घोषित लक्ष्यसँग सम्बन्धित छ ।
जनमुक्ति सेनामाथि पार्टीको पूर्ण अधिकारमा जोड ।
एक देश, दुई प्रणालीलाई बिस्तारै विस्थापित गर्दै मातृभूमिसँग एकीकरणको महत्त्वमा जोड । यो हङकङ र ताइवानको सन्दर्भमा हो ।
बीबीसीबाट