
जी मोटर्स प्रालिले स्काइवेल ईटी-५ मोडेलका गाडीमा सुरक्षासम्बन्धी कुनै समस्या नरहेको बताएको छ ।
शुक्रवार एक विज्ञप्ति जारी गर्दै कम्पनीले गत साउन १ गते लोकान्तर डट कममा करोडमाथि मूल्य पर्ने स्काइवेल ईटी–५: ‘सेफ्टी रेटिङ’ अति कमजोर, सुरक्षामा गम्भीर खेलाँची' शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै समाचारमा उल्लेख भएजस्तो उक्त मोडेलको ईभीको सुरक्षामा कुनै समस्या नरहेको जनाएको हो ।
चीनस्थित स्काइवेल कम्पनीले उत्पादन गरेका पछिल्लो भर्सनका विद्युतीय सवारीहरू ५ स्टार रेटिङ प्राप्त मोडल भएको र त्यससम्बन्धी आवश्यक कागजात आफूसँग सुरक्षित रहेको जी मोटर्सले बताएको छ ।
लोकान्तरमा प्रकाशित समाचारले पाठकवर्गमा भ्रम परेको भन्दै त्यस्तो भ्रममा नपर्न जी मोटर्सको आग्रह छ ।
'चीनस्थित स्काइवेल कम्पनीद्वारा उत्पादन भएका ईटी-५, २०१८ र २०२२ सम्मका मोडेलमा सी-एनक्यापद्वारा १ स्टार दिइएका हुन् । तर २०२३ को जुलाइदेखिका नयाँ उत्पादन विश्वका ६५ देशमा बिक्री भइरहेको र चीनमै स्काइवेल कम्पनीले ५ स्टार प्राप्त मोडेल नै उत्पादन गरी बिक्री गरिरहेको छ । हाल नेपाल आएका मोडेलहरु पनि २०२४ पछिका उत्पादन नै हुन्,' जी मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघिको समाचारबाट कम्पनीको गुडविल र पाठकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौं ।