२७ जेठ २०८३, बुधबार
संघर्ष र सफलताको कथा

...अनि जन्मियो सुदूरपश्चिमको चर्चित होटल राइनो

साउन ५, २०८१
धनगढी
...अनि जन्मियो सुदूरपश्चिमको चर्चित होटल राइनो

धनगढीका नन्दराज अवस्थीलाई जागिर खाने सुर कहिले चलेन । बाल्यकालदेखि नै उनमा व्यापार गर्ने हुटहुटी थियो । जागिरका लागि एकपल्ट पनि प्रयास नगरेका उनी अहिले सफल व्यवसायीका रूपमा चिनिन्छन् । उनले धनगढीमा सञ्चालन गरिरहेको ‘होटल राइनो’ ग्राहकको मनमा बसेको छ । अन्य व्यवसाय आर्थिक मन्दीको मारमा परिरहँदा उनको दैनिकी भने एकनासकै छ । होटलमा आउने ग्राहकलाई खुसी बनाउँदै उनी मनग्य आम्दानी गरिरहेका छन् । 

खानाका लागि होटल राइनो धनगढीमा चर्चित स्थान हो । सुदूरपश्चिमका मात्रै नभएर काठमाडौं र देश बाहिरबाट पनि धनगढी पुगेकाहरूले राइनोको स्वाद चाखेरै जाने गरेका छन् । स्वादिष्ठ खानाका परिकारसँगै राइनो भित्रका कर्मचारी र मालिकबाट पाइने व्यवहार ग्राहकका लागि अझ मीठो छ । 

उसो त होटल राइनोमा साधा र मटन खाना मात्रै पाइन्छ । तर, पनि यहाँ ग्राहकहरूको घुइँचो नै लाग्ने गर्दछ । प्रत्येक दिन कम्तीमा एक सय र बढीमा पाँच सय जनासम्म राइनोमा खाना खान आउँछन् । 

राइनोको सञ्चालक उनै अवस्थी हुन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकै गाउँ डडेल्धुराको तत्कालीन असिग्राम गाविस (हाल गन्यापधुरा गाउँपालिका वडा नम्बर–१ )मा जन्मिएका नन्दराजको बाल्यकाल सामान्य ढङ्गले बित्यो । व्यवसायीक क्षेत्रमा उनले गरेको संघर्ष भने सम्झन लायक छ । 

null

व्यापारी बन्ने हुटहुटी...
डडेल्धुुरास्थित महेन्द्र उच्च माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययन गरिरहेकै समयमा उनको ध्यान व्यापारतिर मोडियो । सानैबाट चुलबुले र निकै बाठा उनी नयाँ कुराहरू छिट्टै सिकिहाल्थे  । नन्दराजका बुवा पनि फाट्टफुट्ट व्यापार व्यवसाय गर्थे । बुवाकै प्रेरणाले व्यापारी बन्न तम्सिएका उनको मानसपटलमा व्यापारबाट राम्रो फाइदा हुन्छ भन्ने थियो । 

‘साँझको समय थियो, म किताब पढ्दै थिए । बुवाले बाहिर कुरा गरिरहनुभएको थियो । चार आनामा किनेको केरा बेचेर एक रुपैयाँ फाइदा भएछ बुवालाई । व्यापारबाट राम्रो नाफा देखेपछि मैले पढ्न छोडिदिएँ, अनि म पनि व्यापारतिर लागे,’ अवस्थीले भने ।

बुवाबाट व्यापार गर्ने प्रेरणा पाएका अवस्थीले व्यवसाय शुरू गरिहाले । व्यापार गर्न त्यो समयमा उनीसँग लगानी थिएन । स्थानीय वीरबहादुर ऐरबाट तीन हजार सापट लिएर तरकारीको व्यवसाय थाले । किसानका बारीमा फलेको तरकारी सस्तोमा किन्ने र बढी पैसा दिने व्यापारीलाई उनी बेच्न थाले । उनको व्यवसायको शुरूआत तरकारीबाटै भयो । यहाँबाट उनले सोचेजस्तै आम्दानी गरे । डडेल्धुराबाट बैतडीको खोड्पे, डोटीको बुडर, कैलालीको खानीडाँडा, अत्तरिया, धनगढीसम्म उनी तरकारी पुर्‍याउन जान्थे । सोचेभन्दा बढी आम्दानी हुन थालेपछि उनले व्यवसायलाई बढाएर होलसेलमा तरकारी बेच्न थाले । 

null

करिब दुई वर्ष रिटेलिङ गरेर तरकारीबाट आम्दानी गरेका अवस्थी दैनिक उपभोग्य सामानहरू दाल, चामल, चिनी, आलुलगायत धनगढीबाट पहाडी जिल्लामा सप्लाई गर्न थाले । गाडी भाँडामा लिएर धनगढीबाट खाद्यान्नका सामानहरू उनी पहाडी जिल्लाका पसल तथा स्थानीयहरूलाई बिक्री गर्न थाले ।

झन्डै पाँच वर्ष यो व्यवसाय गरेका अवस्थीको मन त्यतिमै पनि बुझेन । अझै उनलाई ठुलो व्यवसाय गर्नु थियो । यो बेलासम्म पैसा मात्रै कमाएका थिएनन् सम्बन्ध पनि धेरै नै विस्तार गरिसकेका थिए । अरूको गाडी भाडामा लगेर सामान सप्लाई गरिरहेका अवस्थीले यही व्यवसायबाट आफ्नै गाडी खरिद गरे । तरकारीभन्दा बढी चामलबाट फाइदा हुन थाल्यो । उनी अझ बढी फाइदा हुने अन्य व्यवसायको खोजीमै थिए । 

जब नराम्रोसँग डुबे..
तीव्र फाइदाको खोजीमा दौडिरहेका अवस्थीलाई सार्वजनिक यातायात खरिद गरी सञ्चालन गर्न मन लाग्यो । ऋणका लागि उनले विभिन्न बैंक धाए । संकटकालको समय भएकाले बैंकले विश्वास गरिहाल्ने अवस्था थिएन । बैंकबाट ऋण नपाएपछि व्यक्तिगत ऋणमा उनले टोयटा हायस किने । त्यो समयमा मलेसियामा रहेका उनका भाइ भोजराज अवस्थीले नगद सहयोग गरे । १० लाख नगद र बाँकी ऋणमा अवस्थीले गाडी किने । डडेल्धुरा महेन्द्रनगर रुटमा गाडी चलाइरहेका उनी दुई महिनामै नराम्ररी डुबे ।

‘सर्भिस गराउँदा मिस्त्रीको लापरबाहीले किनेको दुई महिनामै मेरो गाडीको इन्जिन सिज भयो । व्यवसायमा मलाई पहिलो झड्का लाग्यो । गाडी बनाउन चार महिना काठमाडौंमा बसे । गाडी बनाउँदा र होटेलमा खाँदा बस्दा मलाई निकै ऋण लागिसकेको थियो । मेरो भाइले मलेसियाबाट पठाएको पैसा पनि मैले गाडीमै डुबाए । चार महिना गाडी बन्द हुँदाखेरि किस्तासमेत हाल्न सकिरहेको थिएन । काठमाडौंमा गाडी बनाएर फर्किसकेपछि निरन्तर कर्ममै थिए । त्यसको केही दिनमै अगाडि गुडिरहेको गाडीको पछाडि मेरो गाडी ठोकियो । मलाई फलाम फापेन । मैले सुनेको थिएँ, फलाम न फाप्यो भने राम्रोसँग डुबाउँछ रे । त्यसपछि मैले गाडी बेचें,’ अवस्थीले भने । 

गाउँकै स्थानीय मान्छेलाई गाडी बेचेका अवस्थीले समयमै पैसा पाएनन् । गाडी बेचिसकेपछि सुविधा सम्पन्न एसी सहितको अर्को गाडी किन्ने मनसायमा उनी थिए ।

उनलाई महेन्द्रनगर-नेपालगन्ज रुटमा सुविधा सम्पन्न हायस् चलाउन मन थियो । नयाँ गाडी किन्ने चक्करमा चार महिना काठमाडौंमै बिताएका उनलाई ऋणको भारी बढ्दै गइरहेको थियो । अन्ततः उनी हायस् किनेरै  फर्किए । तर, विडम्बना उनले मागेको रुट पाएनन् अर्थात् महेन्द्रनगर-नेपालगन्ज हायस् चलाउन उनलाई अनुमति दिइएन । बाध्य भएर डडेलधुरा महेन्द्रनगरमै हायस् चलाउन पुगेका अवस्थीले  सोचेजस्तो आम्दानी गर्न सकेनन् । त्यसपछि उनीभित्र वितृष्णा जाग्यो। 

कोरिया जाने सोच...
भनेजस्तो रुट नपाएर सोचेजस्तो फाइदा ननिस्केपछि अवस्थीले त्यो गाडी पनि बेचे । त्योबेला भाषा परीक्षा दिनु पर्थेन । पाँच वर्ष कोरिया बसेर नेपालमै केही गर्ने सोचका साथ उनी (कोरिया) जाने तयारीमा थिए । आज होला, भोलि होला भन्ने आसमा उनी काठमाडौं होटलमै बसे । एक वर्ष बित्यो उनीसँग भएको १० देखि १२ लाख हाराहारी रकम खानपिन–मस्तीमै सकियो । तर कोरिया जाने उनको पालो आएन । त्यो बेलासम्म उनले तिर्नुपर्ने ऋण २०/२२ लाख हाराहारी पुगिसकेको थियो ।

काठमाडौंको थकाली खाना उनको मनपर्ने खाना भित्र पर्थ्यो । प्रत्येक दिनजसो उनी त्यही खाना खान जान्थे । कोरिया जाने चाहना पनि पूरा नभएपछि उनी महेन्द्रनगर फर्किए । महेन्द्रनगरका होटल व्यवसायी तेजसिंह कार्की र पदमराज अवस्थीले चटपटा टाइपको राम्रो रेस्टुरेन्ट चलाउन सुझाव दिए । 

होटेल लाइनमा कमाइ राम्रो हुन्छ भन्ने सुनेका अवस्थी ढिलो नगरी व्यवसाय सञ्चालन गर्न थाले । महेन्द्रनगरस्थित एक घर भाडामा लिएर उनले होटेल राइनो शुरू गरे । 

‘होटल खोल्ने भएपछि राम्रो नामको खोजीमा थिए । महेन्द्रनगर बजार नजिकै शुक्लाफाँटा वन्यजन्तु आरक्ष भएकाले मैले होटलको नाम राइनो राखे । होटल दर्ता गर्नुपर्छ, कर तिर्नुपर्छ भन्ने मलाई थाहा थिएन । पाँच वर्ष बिना दर्ता चलाएँ । स्थानीय सबै साथी भाइ र परिवारको सहयोगले मैले होटल सञ्चालन गरिरहेको थिए । पाँच वर्षपछि घरबेटीसँग कुरा नमिलेपछि त्यहाँबाट होटेल सार्ने निर्णय गरें,’ अवस्थीले भने । 

तीन भाइ मिलेर डडेल्धुरामा ‘राइनो’, अनि धनगढी...
महेन्द्रनगरमा एक्लै व्यवसाय सञ्चालन गरिरहेका अवस्थीलाई उनका दुई भाइको पनि साथ मिल्यो । मलेसियामा रहेका उनका भाइ भोजराज पनि घर फर्किसकेका थिए भने अर्का भाइ टेकराज अवस्थीले पनि हातमा हात मिलाए ।

उनी जन्मेकै जिल्ला डडेलधुराको बागबजारमा एक घर भाडामा पाएपछि सुविधा सम्पन्न ढङ्गले राइनो होटल सञ्चालनमा आयो । होटल सञ्चालनमा आएको छोटो समयमै अवस्थीले सबै ऋण तिरे । धनगढी बोराडाँडीमा एक कट्ठा जग्गा पनि किने ।

डडेलधुरामा मनग्य  फाइदा भएपछि अवस्थीले आफ्ना भाइहरूलाई पनि व्यवस्थापन गर्ने हेतुले शाखा विस्तार गर्ने निर्णय गरे । डडेल्धुरामा भाइहरूलाई जिम्मेवारी दिँदै आफूले धनगढीमा व्यवसाय सञ्चालन गर्ने मनसाय बनाए । जमिन भाडामा लिएर उनले आवश्यक संरचना तयार गरी ५३ लाखको लागतमा २०७२ मङ्सिर १० गते उनले राइनो होटल सञ्चालनमा ल्याए ।

null

शुरूआती चरणदेखि धनगढीस्थित राइनोले निकै चर्चा कमायो । प्रत्येक दिन उनको होटेलमा खाना खानेहरूको भिड भइरहन्छ । सादा खानाको २५० र मटन खानाको ४०० लिइरहेका अवस्थीको होटेलमा रेट सोध्ने ग्राहक एक प्रतिशत मात्रै आउने गर्छन् । होटल खुलेको दिनदेखि अहिलेसम्म पनि नियमित रूपमा आइरहने ग्राहक देख्दाखेरि उनी निकै प्रफुल्ल छन् । 

‘देश विदेशबाट धनगढी आउने नागरिकहरू एक पटक राइनोमा पुग्ने गर्दछन् । कहिले कसैसँग विवाद भएको छैन । एक रुपैयाँ उधारो गएको छैन । एउटा व्यापारीका लागि योभन्दा ठुलो खुसी अरू के हुन सक्छ ? म निकै खुसी छु । सन्तुष्ट छु,’ अवस्थीले भने । 

होटलका कामदारसँगै अवस्थी पनि बिहान ५ बजेदेखि दिउँसो ३ बजेसम्म खटिरहन्छन् । ग्राहकले नमाग्दै उसको थालसम्म आवश्यक खानेकुरा पुर्‍याउनु राइनोको मुख्य विशेषता हो । राइनो होटेलमा खाना खान बस्दा यहाँका कामदार र होटेल सञ्चालकबाट पाइने व्यवहार ग्राहकका लागि रोजाइको विषय हो । एकपटक खान बस्दा यहाँका कामदार र स्वयं अवस्थी पनि पटक–पटक खानाका परिकार बोकेर टेबलमै पुग्छन् । 

‘हामीले दिने सेवा हो । ग्राहकले नमाग्दै हामीले सर्भिस दिन्छौं । ग्राहकले मागेपछि दिनु मागेर खाएकोजस्तो भयो । त्यस कारण हामी मागेर खाएजस्तो हैन सेवा गर्न चाहन्छौँ । काम गर्ने उद्देश्यले अगाडि बढिसकेपछि आराम भन्ने कुरा हुँदैन । आफू खटियो भने सबै कुरा ठिक हुन्छ, आफू नै अल्छी भयो भने व्यवसाय नै अल्छी हुँदै जान्छ । मलाई ग्राहकको सन्तुष्टि नै असल विज्ञापन होजस्तो लाग्छ । व्यवहार नै उत्तम व्यापार होजस्तो लाग्छ । म आफैं खट्ने गर्दछु । यसले गर्दा मलाई निकै फाइदा पनि भएको छ । ग्राहकहरूसँग घुलमिल पनि हुन पाएको छु । मेरो परिचय पनि बढेको छ । र ग्राहकलाई सन्तुष्ट बनाएर पठाउन पाइरहेको छु,’ अवस्थीले भने ।

काठमाडौं ओहोर–दोहोर गर्दा त्यहाँ पाइने थकाली खानाले उनको ध्यान होटल व्यवसायीतिर खिचेको थियो । थकालीजस्तै मीठो  खाना सुदूरपश्चिममा पनि खुवाउन सके राम्रो व्यापार हुन सक्ने उनको आकलन थियो । उनको आँकलन सही साबित भएको छ । उनी आत्मसन्तुष्टिका साथ फाइदामा छन् । 

काठमाडौंमा राइनो, डडेल्धुरामा रिसोर्टको तयारी 
खानाका लागि धनगढीमा ग्राहकको पहिलो रोजाइमा रहेको राइनो सर्वाधिक चलेको होटल हो । यहाँ ग्राहकको भिड यति धेरै हुन्छ कि होटल सञ्चालकले दिउँसो ३ बजेपछि खानासमेत खुवाउन सकिरहेका छैनन् । बिहान ५ बजेबाट दिउँसो ३ बजेसम्म निरन्तर खाना खुवाइरहेका अवस्थी बेलुकी ३ बजेबाट भने भोलि पल्टको कामको तयारीमा हुन्छन् । भने बमोजिमका कर्मचारी नपाएपछि साँझको समय होटल सञ्चालन गर्न पाएका छैनन् । 

‘होटल लाइनमा नेपाली नागरिकहरूको खासै रुचि छैन । भारतमा हेर्ने हो भने यहाँकै नेपाली दाजुभाइहरू होटेलमा काम गर्छन् तर, यहाँ उहाँहरू काम गर्न सक्दैनन् । धेरैजसो आउँछन् एक/डेढ महिना गर्छन्, सिक्छन् र छोडेर जान्छन् । आवश्यकता अनुसारका कर्मचारी नपाउँदा साँझ सेवा दिन पाइएको छैन । धेरै ग्राहकहरू सटर बन्द देख्दा फर्केर जान्छन् । मलाई पनि निकै दुःख लाग्छ,’ अवस्थीले भने । 

राइनो होटल सञ्चालनमा अवस्थीलाई उनकी श्रीमती दुर्गादेवी अवस्थी र छोरा तीर्थराज अवस्थीसँगै भाइहरूले पनि साथ दिइरहेका छन् । अर्का भाइ टेकराज अवस्थीको लागि पनि उनले अत्तरियामा राइनो होटल सञ्चालन गरेका छन् । 

null

धनगढी शहीद गेटनजिक उनको मामाका छोरा कृष्ण जोशीले पनि राइनो गार्डेन सञ्चालनमा ल्याएका छन् । 

पछिल्लो समय होटल सञ्चालनबाट फाइदामा रहेका अवस्थी अबको केही समयमै काठमाडौंमा होटल राइनो सञ्चालनको तयारीमा छन् । ‘केही समयपछि मैले काठमाडौंमा राइनो होटल सञ्चालन गर्ने तयारी गरेको छु । यहाँकै स्वादमा स्वादिष्ठ खानाका परिकार काठमाडौंमा रहेका नागरिकहरूले पनि पाउनेछन् । योसँगै डडेलधुरामा १० रोपनी जग्गाको सेरोफेरोमा रिसोर्ट खोल्ने पनि मेरो तयारी छ । त्यसका लागि केही समय लाग्छ’, अवस्थीले भने ।

राइनोमा खाना खान पुग्ने ग्राहकहरूलाई त्यहाँका कर्मचारीले पानीले स्वागत गर्छन् । त्यसको केही समयमै पापड र मही सहितको सलाद ल्याइन्छ । अनि बल्ल आउँछ खाना । तीन दिनमा एक दिन टमाटर, टिमुर, मुला, करेला र आलुको चटनी रहन्छ । हरियो साग, गुन्द्रुक आलुगोभीको तरकारी र घिउ थाली सेटभित्र पर्दछन् । 

यसका अलावा ननभेजहरूका लागि स्वादिष्ठ मटनको व्यवस्था राइनोमा छ ।  सफल व्यवसायीका रूपले परिचित अवस्थीले देशको सुशासन र प्रशासन ठिक गतिमा आए विदेश जाने युवाहरूलाई रोक्न सकिने बताउँछन् ।

‘प्रशासन कमजोर हुँदा कर आतंक छ, राजस्वको झमेला छ । व्यवसायीहरू मारमा छन् । युवाहरू रोजगारी नपाउँदा विदेशिन बाध्य छन् । त्यस कारण देशको सुशासन र प्रशासन ठिक हुन सक्यो भने देशमा केही गर्ने अवसर सिर्जना हुने थियो । जसका कारण युवाहरू विदेशिनु पर्ने थिएन,’ अवस्थी भन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्