३१ असार २०८३, बुधबार

गाजामा मृत आमाको कोखबाट नवजात शिशु जिवितै निकालियो

साउन ५, २०८१
काठमाडौं
गाजामा मृत आमाको कोखबाट नवजात शिशु जिवितै निकालियो

इजरायली आक्रमणमा परेकी एक आमाको कोखबाट एक नबजात शिशुलाई जीवितै उद्धार गरिएको गाजास्थित एक अस्पतालले शनिबार जनाएको छ ।

हमास प्रशासित क्षेत्रमा भएको क्षेप्यास्त्र आक्रमणमा एकै परिवारका छ सदस्यसहित २४ जनाभन्दा बढीको मृत्यु भएको र त्यसमा एक नौ महिनाकी गर्भवती ओला अदनान हर्ब अल कुर्द पनि रहेको बताइएको छ । 

सर्जन अकरम हुसेनका अनुसार कुर्द अल अवदा अस्पताल पुग्दासम्म मृत्यु भइसकेको थियो । चिकित्सकहरूले आमाको मृत्यु भइसकेको थाहा पाएपछि अल्ट्रासाउन्ड गर्दा बच्चाको मुटुको धड्कन चलिरहेको पाएपछि तत्काल शल्यक्रिया गरी पेटभित्रको नवजात शिशुलाई सकुशल उद्धार गरेका थिए । 

“हामी (चिकित्सक र स्वास्थ्यकर्मीको उपलब्ध टोली) ले तुरुन्तै आपतकालीन शल्यक्रिया गरी भ्रूणलाई सकुशल मृत आमाको पेटबाट निकाल्न सफल भएका छौँ,” ती सर्जन हुसेनले एएफपीसँग भने । 

अस्पतालको प्रसूति तथा स्त्रीरोग विभागका प्रमुख रैद अल साउदीका अनुसार नवजात शिशुको अवस्था सुरुमा गम्भीर थियो, तर अक्सिजन र उपचारपछि उनको उपचार स्थिर छ ।

शिशुलाई ‘इन्क्युबेटर’ मा राखी थप रेखदेख र उपचारका लागि देइर अल–बलाहको अल–अक्सा अस्पतालमा स्थानान्तरण गरिएको छ । 

मध्य गाजास्थित नुसिरात शरणार्थी शिविरमा इजरायली क्षेप्यास्त्र प्रहारबाट कुर्दसहित तीन महिला र एक बालकको मृत्यु भएको अल अवदा अस्पतालका एक मेडिकल अधिकारीले जानकारी दिए । उनको घरमा भएको आक्रमणमा मृत महिलाका पति पनि घाइते भएको अस्पताल स्रोतले जानकारी गराएको छ ।

इजरायलले आक्रमण र व्यक्तिगत क्षतिबारे पुष्टि गरेको छैन तर सेनाले जारी गरेको विज्ञप्तिमा मध्य गाजामा रहेका आतङ्कवादी संरचनास्थलमा सेनाले लक्षित आक्रमण गरिरहेको उल्लेख गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्