
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
बंगलादेशमा जारी आन्दोलनका कारण शनिबारसम्म करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।
उनीहरु हवाइ तथा स्थलमार्ग हुँदै नेपाल आइपुगेको मन्त्रालयले शनिबार जानकारी दिएको हो ।
‘हालसम्म झण्डै ८०० नेपाली विद्यार्थीले हवाई तथा स्थलमार्ग हुँदै बंगलादेश छाडेका छन्’, मन्त्रालयले एक्समार्फत भनेको छ, ‘ढाकास्थित नेपाली दूतावासले अधिकांश विद्यार्थीहरूसँग बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थल तथा सम्बन्धित सीमा नाकाहरूमा सुरक्षित यात्राको लागि समन्वय गरेको छ।’
दूतावासले बंगलादेशका विश्वविद्यालय, सम्बन्धित निकायहरू र कानून प्रवर्तन एजेन्सीहरूसँग समन्वय गर्दै आएको पनि मन्त्रालयले जनाएको छ ।
बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण नेपाली विद्यार्थीहरु समस्यामा परेका हुन् ।
यस्तै मन्त्रालयले एक सूचना जारी गर्दै बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरूका सम्बन्धमा अनलाइन निवेदन दिन अनुरोध गरेको छ ।
यसैबीच आइतबार १७ नेपाली स्वदेश फर्किन लागेको प्रधानमन्त्री केपी ओलीले जानकारी दिएका छन् ।
००००
आइतबार प्रधानमन्त्री केपी ओलीसहित दुई प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका छन् ।
जसअनुसार लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।
प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले आइतबार दिउँसो १ बजे मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची रहेको जानकारी दिए ।
यसैगरी बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पनि प्रदेशसभाबाट आजै विश्वासको मत लिँदैछन् । तर, दुबै मुख्यमन्त्रीले विश्वासको मत नपाउने निश्चित छ ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संघीय संसदको प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिएपछि उनले सरकारका कामकारबाहीलाई थप गति दिने तयारी छ । ओलीले दुई तिहाइ सांसदको विश्वासको मत पाउने निश्चित भइसकेको छ ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ ।
ओलीले संसदमा राख्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिएको राप्रपाका प्रवक्ता तथा पार्टी प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।
यस्तै माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिनेछैन ।
००००
नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनीत भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले उनलाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन् ।
रमेश लेखक गृहमन्त्री बनेपछि कांग्रेसको प्रमुख सचेतक पद रिक्त थियो ।
००००
चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमा सवार यात्रुमध्ये हालसम्म २५ जनाको शव फेला परेको छ। जसमध्ये १७ जनाको सनाखत भएको प्रहरीले जनाएको छ।
गत असार २८ गते वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलताल त्रिशूली नदीमा पहिरोसँगै खसेका थिए।
००००
नेपाल प्रहरीका पाँच जना प्रहरी उपरीक्षक (एसपी)को काजमा सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले पाँच एसपीको काज सरुवा गरेको हो ।
अर्को आदेश नआउँदासम्म तोकिएको दरबन्दीमा गएर काम गर्नरगराउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
००००
गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायसँग सम्बन्धित कानूनलाई समयक्रमसँगै संशोधन गर्न आवश्यक भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको बताएका छन् ।
शुक्रबार सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकको निरीक्षण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको सुदृढीकरण र वृत्तिविकास गर्न मन्त्रालय सधैँ साथमा रहेको बताए । आफू सुरक्षा निकायलाई स्रोतसाधन सम्पन्न बनाउन लागिपरेको उनको भनाइ थियो ।