
रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ ।
बिहीबार बेलुकी विमान तामाङको घरमाथि पहिरो खस्दा उनकी छोरीसहित तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता इन्सपेक्टर कौशल न्यौपानेले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार ज्यान गुमाउनेमा विमानकी छोरी १८ वर्षीया सीता तामाङ, छिमेकी पेमा तामाङकी छोरी १५ वर्षीया आशिका दोङ र अर्का छिमेकी पदम तामाङकी छोरी १३ वर्षीया लक्ष्मी तामाङ रहेका छन् ।
बिहीबार साँझ रोपाइँ सकेर घरमा आगो ताप्न एकै ठाउँमा बसिरहेका उनीहरूलाई पहिरोले पुरेको उनले बताए ।
राति स्थानीय र प्रहरीले पन्छाएर शवहरू बाहिर निकालेको उनले बताए ।
अविरल वर्षापछि खसेको पहिरोले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिएको थियो ।
तर, सोही घरको अर्को कोठामा रहेका विमान र उनकी श्रीमती सकुशल रहेको गोकुलगङ्गा–६ का वडाध्यक्ष चन्द्र सुनुवारले बताए ।