२९ जेठ २०८३, शुक्रबार
कोइराला परिवार मिलनको नयाँ किस्ता

महाधिवेशनमा धोखा पाएका शेखर–सुजाता फेरि छलफलमा, संगठनमा कति छ गिरिजापुत्रीको तागत ?

साउन १३, २०८१
काठमाडौं
महाधिवेशनमा धोखा पाएका शेखर–सुजाता फेरि छलफलमा, संगठनमा कति छ गिरिजापुत्रीको तागत ?

१३ र १४ औं महाधिवेशनमा धेरै चर्चा गरेर पनि मिल्न नसकेका कोइराला परिवारका तीन नेता फेरि मिलेर जानेबारे छलफल हुन थालेको छ । केशव–नोनापुत्र डा. शेखर कोइराला र गिरिजाप्रसाद कोइरालापुत्री सुजाताबीच पछिल्लो समय मिलेर जानेबारे छलफल चलिरहेको छ । गिरिजा र सुशीलको निधनपछिका दुई महाधिवेशनमा एक्लाएक्लै अगाडि बढ्दा कोइराला परिवारको वर्चश्व नै धरापमा परेको भन्दै मिलेर जाने विषयमा चर्चा शुरू भएको हो । 

यी दुईले मिलेर जाने भनी गरेको सहमतिमा बीपीपुत्र डा. शशांक कोइरालालाई पनि सहभागी गराउने दाबी उनीहरूको छ । एक्लाएक्लै अगाडि बढ्दा दुवै महाधिवेशनमा कोइराला विरासत पराजित भएको थियो । यसैले यस्तै अवस्था रहे १५ औं महाधिवेशनमा पनि सोही नियति दोहोरिने आकलनपछि विरासत फर्काउन कोइराला परिवारलाई मिलेर जान दबाब बढेको हो । 

शेखर समूहका नेता डा. गोविन्दराज पोखरेल कोइरालाहरू फुटे हार्छन् भन्ने मनोविज्ञान चिर्न जरुरी रहेको बताउँछन् । 

‘लगातारका दुई महाधिवेशन गुमेपछि मान्छेमा निराशा छ । शुभेच्छुककै भोट बाँडिएको छ । यसैले मनोवैज्ञानिक रूपमा फुटे हार्छन् भन्नेछ,’ पोखरेलले लोकान्तरसँग भने, ‘विभाजित हुँदा अरू नै जित्ने भयो । यसैले पुरानो विरासत फर्काउन पनि कोइराला मिल्न र पूर्व संस्थापन एक ठाउँमा उभिन आवश्यक भइसक्यो । यसैले शेखर र सुजातालाई मिलायौं । अब अरू पनि मिल्नुपर्छ ।’ 

कोइरालाहरू मात्रै भन्दा पनि महामन्त्री गगनसहित सबै मिल्नुपर्ने पक्षमा आफूहरू भएको उनले बताए । ‘लाभ लिन पनि नेता कार्यकर्ताले शेखर र गगन दुवैतिर उचाल्ने काम गरेका छन् । तर, भित्री रूपमा उहाँहरूबीच बाहिर आएजस्तो असन्तुष्टि र आक्रोश छैन  । प्रत्येक हप्ता भेट्नुहुन्छ,’ पोखरेलले भने, ‘कांग्रेसलाई भोलि निर्वाचनमा गठबन्धन नगरी जिताउन शेखर र गगन नमिली सम्भव छैन । यी दुईको मिलनले मात्रै गुटबन्दी अन्त्य गरी १० वर्षमा देउवाले गरेका लेनदेन र सत्तामुखी राजनीतिबाट पार्टीलाई माथि उठाउन सकिन्छ ।’

१४ औं महाधिवेशनदेखि डा. शेखर कोइराला समूहको नेताका रूपमा रहँदै आएका छन् । यो समूहलाई अहिलेसम्म शेखर–गगनको नामले चिनिन्छ । तर, केही बैठक गरेर एक ठाउँमा रहेको सन्देश दिनेबाहेक शेखर–गगन समूह सक्रियता र संगठित हिसाबले एक ठाउँमा देखिएको छैन । यसैले कतिपय नेताहरू कोइराला विरासत फर्काउन तीन नेता मिलेर जाने समझदारी गराउन लागि परेको नेताहरू बताउँछन् । 

पछिल्ला वर्ष राजनीतिबाट विरिक्तिको आशयसहित सुजाता मण्डिखटारको निवास छाडेर बूढानीलकण्ठको भित्तातिर सरेकी छिन् । तर, कांग्रेसमा कोइराला विरासत फर्काउन पार्टीमा उनको पनि आवश्यकता महसुस भइरहेको एक नेता बताउँछन् । 

तीन नेता नमिल्दा दुई महाधिवेशन कोइरालाको लगामबाट बाहिर गयो । यसैले फेरि नमिले १५ औं महाधिवेशनमा पनि नियन्त्रणबाहिर जाने यो समूहका शुभेच्छुकको सुझावपछि केही दिनअगाडि शेखर र सुजाताले मिलेर जाने सहमति गरेका हुन् । 

गत ४ साउनमा सुजाता आफूहरू मिल्न लागेको सन्देश दिँदै शेखरले काठमाडौंको विशालनगरमा खोलेको सम्पर्क कार्यालयमा पुगेकी थिइन् । बाबुबाजेको सपना पूरा गर्न पनि तीन कोइराला एक ठाउँमा उभिनुपर्ने सुजाताले बताइएकी थिइन् । 

‘हामीहरू एकजुट भइकन हाम्रो बुवा र हजुरबुवाको सपनालाई पूरा गर्नैपर्छ । शेखर दाले त्यो लिडरशिप लिनुभएको छ,’ सुजाताले भनेकी थिइन्, ‘त्यो लिडरशिपलाई सबैले सहयोग गर्नुपर्छ । यस्तो हुँदा मुलुकले पनि निकास पाउँछ । विवाद र झगडा नगरी हामी तीनजना मिलेर जान्छौं ।’ सुजाताले शशांक पनि यो अभियानमा आउने दाबी गरेकी थिइन् । शेखरले पनि देश अप्ठ्यारोमा परेका बेला आफूहरू मिलेर अगाडि बढ्नुपर्ने मत राखेका थिए । 

अघिल्ला दुई महाधिवेशनमा एक्लाएक्लै हिँड्दा सबै कमजोर बनेको भन्दै कोइराला पक्षधर तेस्रो र चौथो तहका नेता तथा शुभेच्छुक उनीहरूलाई मिलाउन क्रियाशील छन् । शेखर–सुजातालाई मिलाउने अभियानमा सक्रियतापूर्वक लागेकी कांग्रेस नेतृ रिता शाही अघिल्ला दुई महाधिवेशनबाट सिक्ने हो भने कोइराला परिवार र पूर्व संस्थापन एकजुट हुनुपर्ने बताउँछिन् ।

‘अघिल्ला दुई महाधिवेशनबाट सिक्ने हो भने १५ औं महाधिवेशन सफल बनाउन घरपरिवार मिल्नुस् । अनि अरू नेतालाई पनि सँगै अगाडि लिएर जाने वातावरण बनाउनुस् भनेर हामीले आग्रह गरेका हौं,’ शाहीले लोकान्तरसँग भनिन्, ‘प्रभावशाली नेता सुजाता दिदीको घरमै गएर हामीले पटक–पटक अब तपाईंहरू मिल्नुपर्छ भनेपछि उहाँ पनि शेखर दाइको कार्यालयसम्मै पुगेर मिल्नुपर्छ भन्नुभएको छ । यो हाम्रो चरणबद्ध होमवर्कको नतिजा हो ।’

आफूहरूले कोइराला परिवार मात्रै भन्दा पनि महामन्त्री गगन थापासहितको पूर्व संस्थापन नै मिल्नुपर्ने सुझाव दिएको उनी बताउँछिन् ।

null

‘पहिले कोइरालाहरूले हामी एकजुट छौं भनेर सन्देश दिनुपर्छ । अनि गगन थापाहरू पनि यही समूहमा रहनुपर्छ भन्नेमा हामी छौं,’ शाही भन्छिन्, ‘तर, बाहिर देखिएजस्तो विवाद नभए पनि शेखर दाइ र गगनबीच विवाद ल्याएर खेल्ने मान्छे छन् । यस्तो प्रवृत्तिबाट सिक्नुपर्छ । यो टीमलाई जोगाइराखे मात्रै शेखर दाइ र गगन सबैको भविष्य सुरक्षित हुन्छ ।’ 

पारिवारिक वातावरण बनाउँदै जाँदा शशांक कोइराला पनि समूहभित्रै आउने यो पक्षको दाबी छ । पछिल्लो समय डा. गोविन्दराज पोखरेल, दिनेश कोइरालासहित केही केन्द्रीय सदस्य, पूर्व जिल्ला सभापतिसहितका नेता कोइराला परिवार मिलाउने प्रयासमा देखिन्छन् ।

गगनले ‘१५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार शेखर हो’ भनेर बताएको र शशांकले ‘मलाई केही चाहिएको छैन, पार्टी बलियो हुनुपर्‍यो’ भनेपछि शेखर अब निर्विकल्प रहेको दाबी पोखरेलले गरे । तर, गगन पनि सभापतिमा उठ्ने तयारीमा रहेको निकटस्थहरू बताउँछन् ।

टसमस छैनन् शशांक

बीपीपुत्र शशांक १३ औं महाविधेशनमा नै सभापति उठ्न चाहन्थे । तर रामचन्द्र पौडेल उम्मेदवार बनेपछि उनी महामन्त्रीमा उठे अनि जिते । सभापतिका उम्मेदवार पौडेल हारे । 

१४ औं महाधिवेशनमा शशांकको नजर सभापति लड्नेतिर थियो । तर शेखरले समूह बनाएर तयारी गरेपछि शशांक केन्द्रीय सदस्य मात्रै लडे । दुवै महाधिवेशनमा आफू निकटको समूहलाई जिताउन खुलेर लागिदिएनन् । यसैले नतिजा शेरबहादुर देउवातिर पुग्यो । 

अब १५ औं महाधिवेशनमा भने शशांक सभापतिमा नउठी नछाड्ने पक्षमा रहेको उनीनिकट स्रोतको दाबी छ । शशांकको मात्रै चाहनाभन्दा पनि पौडेल र शेखरले नसकेपछि बीपीपुत्र शशांकले मात्रै देउवालाई पराजित गर्न सक्ने मत राख्ने पनि कांग्रेसमा छन् ।

सिंगो समूह एक ठाउँमा उभिए आफूले देउवा पक्षका जो सुकैलाई पनि हराइदिने दाबी शशांकले गर्दै आएका छन् । पछिल्लो समय शशांक पनि १५ औं महाधिवेशनको तयारीका लागि जिल्ला दौहाडा गर्ने र नेता कार्यकर्ताको मनस्थिति बुझ्ने काममा व्यस्त देखिन्छन् ।

यस्तो थियो १४ औं महाधिवेशनमा शेखर र सुजाताको पोजिसन 

१४ औं महाधिवेशनअगाडि पनि शेखर, शशांक र सुजाता मिलेर अगाडि बढ्ने दाबी गरिएको थियो ।

कहिले सँगै लञ्च खाएर त कहिले एउटै मालामा बाँधिएर तीनजनाले नै यस्तो प्रतिबद्धता जनाएका थिए । तर महाधिवेशनसम्म पुग्दा तीन नेता तीनतिर पुगे । सभापतिको उम्मेदवार बन्न नपाएपछि महामन्त्री रहेका डा. शशांक कोइराला केन्द्रीय सदस्य मात्रै लडे । 

null

संस्थापनका शेरबहादुर देउवाविरुद्ध डा. शेखर कोइराला लडे । तर उनलाई शशांक र सुजाता दुवैको साथ भएन । ४६७९ जनाले मतदान गरेकोमा पहिलो चरणमा देउवाले २२५८ मत ल्याए । शेखरको १७०२ मत आयो । पहिलो चरणमा प्रकाशमान सिंहले ३७१ मत ल्याए । उनी पनि पूर्व संस्थापन पक्षका नेता हुन् । 

उपसभापति विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए । विधानअनुसार सभापतिमा ५१ प्रतिशत मत ल्याउनुपर्ने भएपछि सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाबीच दोस्रोपटक प्रतिस्पर्धा भएको थियो, जसमा देउवाले सहजै बाजी गरेर लगातार दोस्रोपटक सभापति जितेका थिए ।

देउवाले २७३३ र कोइरालाले १८५५ मत मात्रै ल्याए । देउवाले ४७५ मत बढाउँदा शेखरले १५३ मात्रै मत बढाउन सकेका थिए । दोस्रो चरणमा ४६२३ मत मात्रै खसेको थियो । दोस्रो प्रतिस्पर्धामा देउवालाई सिंह, निधि र गुरुङको साथ रह्यो । तर, कोइराला एक्लै पर्न पुगे । 

गिरिजापुत्री सुजाता प्रकाशमान सिंहको तर्फबाट उपसभापति बनेकी थिइन् । तर, दुई उपसभापतिका लागि निर्वाचन हुँदा सात जनाबीच प्रतिस्पर्धा भयो । जसमा कोइराला ६४४ मत ल्याएर पाँचौ भएकी थिइन् । सुजाताले पाएको त्यो १३ प्रतिशत मत थियो । शेखरले सहयोगका लागि आग्रह गरे पनि सुजाता सिंहको प्यानलमा लागेकी थिइन् । संस्थापनका पूर्णबहादुर खड्का २१२१ र शेखर–गगन पक्षका धनराज गुरुङ १९०८ मत ल्याएर विजयी भएका थिए । 

‘शेखर दाइसँग भेटेपछि अब नियमित छलफल गर्ने र एक भएको सन्देश दिँदै जाने तयारी थियो,’ सुजातानिकटका एक नेता भन्छन्, ‘यसैले शनिबार काठमाडौंको एक पार्टी प्यालेसमा ५ सय जनालाई बोलाइएकोमा ८ सय जति सहभागी भए । अलिपछि फेरि यस्तै नेता कार्यकर्तालाई इंगेज गर्ने कार्यक्रम गर्छौं ।'

संस्थापनका विजयकुमार गच्छदार धनराजभन्दा २ भोटले पछि पर्दै पराजित भएका थिए । शेखर–गगन समूहका चन्द्र भण्डारीले १५८० मत प्राप्त गरेका थिए । महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत पाएका थिए ।

सक्रिय नभए पनि सुजाताको प्रभाव अझै पनि कांग्रेसमा रहेको उनी निकट नेताहरूको दाबी छ । पछिल्ला वर्ष राजनीतिबाट विरिक्तिको आशयसहित सुजाता मण्डिखटारको निवास छाडेर बूढानीलकण्ठको भित्तातिर सरेकी छिन् । तर, कांग्रेसमा कोइराला विरासत फर्काउन पार्टीमा उनको पनि आवश्यकता महसुस भइरहेको एक नेता बताउँछन् । 

‘पार्टी केन्द्रीय सदस्यबाहेक पछिल्लो समय सुजाता दिदी पार्टीको पोर्टफोलियोमा बलियो भूमिकामा हुनुहुन्न । तर, गिरिजाप्रसादकी छोरी हुनुहुन्छ । अहिले सक्रिय नभए पनि धेरैलाई सहयोग गरेको, गिरिजाको लिगेसीले उहाँको प्रभाव अवश्यै छ,’ ती नेता भन्छन्, ‘उहाँले कतिपय अवस्थामा ढंग नपुर्‍याउनुभएको हुन सक्छ । परिपक्व व्यवहार नदेखिनु कमजोरी हुन सक्छ । तर, उहाँले गुन लगाएका र सहयोग गरेका थुप्रै नेता कार्यकर्ता छन् । खुलेर मैदानमा आउँदा महाधिवेशनमा ५/६ सय भोट प्रभावित गर्न सक्नुहुन्छ ।’ प्रकाशमान सिंह प्यानलबाट उठेर ६४४ भोट ल्याउनु पनि सुजाता कमजोर नभएको सन्देश रहेको ती नेता बताउँछन् ।

शेखरसँग मिलेर जाने बताएको एक हप्तालगत्तै शनिबार पनि सुजाताले ८ सय जनालाई निम्ता गर्दै खीर खुवाएकी थिइन् ।

‘शेखर दाइसँग भेटेपछि अब नियमित छलफल गर्ने र एक भएको सन्देश दिँदै जाने तयारी थियो,’ सुजातानिकटका एक नेता भन्छन्, ‘यसैले शनिबार काठमाडौंको एक पार्टी प्यालेसमा ५ सय जनालाई बोलाइएकोमा ८ सय जति सहभागी भए । अलिपछि फेरि यस्तै नेता कार्यकर्तालाई इंगेज गर्ने कार्यक्रम गर्छौं । यी सबै कार्यक्रम शेखर र सुजाता दुवैका लागि हो, किनकी एउटा बलियो भए मात्रै अर्को पनि बलियो हुने हो ।’

salt training

कमेन्ट गर्नुहोस्