२९ जेठ २०८३, शुक्रबार

राजश्व चुहावटको आरोपमा ५ सुनचाँदी पसलका प्रोप्राइटरविरुद्ध मुद्दा​ दायर

साउन १३, २०८१
काठमाडौं
राजश्व चुहावटको आरोपमा ५ सुनचाँदी पसलका प्रोप्राइटरविरुद्ध मुद्दा​ दायर
फाइल फोटो

​कास्कीको पोखरा महानगरपालिकामा सञ्चालित पाँच वटा सुनचाँदी पसलका प्रोप्राइटरविरुद्ध उच्च अदालत पोखरामा राजश्व चुहावटसम्बन्धी मुद्दा दर्ता भएको छ ।

राजश्व अनुसन्धान विभागले आइतबार उनीहरूविरुद्ध ८ करोड १५ लाख १६ हजार ८३८ रुपैयाँ बराबरको बिगो कायम गरेर मुद्दा दायर गरेको हो ।

विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार पोखरा महानगरपालिका–२ स्थित मोहरिया टोलमा सञ्चालित जयभैरव ज्वेलर्सका प्रोप्राइटर भारत पश्चिम बंगालका सुरजित भौमिक, पोखराकै ९ नम्बर वडामा सञ्चालित  श्री एस सगरमाथा ज्वेलर्सका प्रोप्राइटर सुरेन्द्र विश्वकर्मा रामदास र श्री बाराही ज्वेलर्सका प्रोप्राइटर अर्जुन सुनारविरुद्ध मुद्दा दायर गरिएको हो । 

यस्तै, पोखरा महानगरकै २६ नम्बर वडामा सञ्चालित श्री लेखनाथ ज्वेलर्सका प्रोप्राइटर अर्जुनबहादुर कामी र श्री देवीरम्भा सुनचाँदी दुकानका प्रोप्राइटर जनकलाल लोहनीविरुद्ध राजश्व चुहावटसम्बन्धी मुद्दा दायर गरिएको अधिकारीले जानकारी दिए ।

विभागका अनुसार भौमिकले अवैध सुनचाँदी चोरी पैठारी गरेर राजश्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ ।

उनीबाहेक अन्य प्रतिवादीहरूले भौमिकको डेरा तथा पसलबाट बरामद भएका सुनचाँदीका गरगहनालाई वैधानिकीकरण गरी गहना बनाउन दिएको विभागको दाबी छ । ​

विभागले भौमिकको हकमा ७ करोड ९ लाख पाँच हजार २७२ रुपैयाँ बिगो जरिवाना र एक वर्षदेखि तीन वर्षसम्मको कैद सजायको मागदाबी गरेको छ ।

अन्यका हकमा क्रमशः राम दासलाई ७६ लाख १६ हजार ४५०, लोहनीलाई ८ लाख ८० हजार आठ रुपैयाँ, सुनारलाई १२ लाख ५५ हजार ६८५ रुपैयाँ र कामीलाई ८ लाख ५९ हजार ४२३ रुपैयाँ बिगो बमोजिमको जरिवानाको मागदाबी विभागले गरेको छ ।

कैद सजायको हकमा भने एक महिनादेखि ६ महिनासम्मको मागदाबी लिइएको विभागले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्