
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय चौतारा, सिन्धुपाल्चोकका सव-इन्जिनियर हिराबाबु थापासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
दोलखामा ग्रामीण सडकको स्तरोन्नति गर्ने कार्यमा कमिशन लिएको आरोपमा पक्राउ परेका उनीहरूविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीहरूले दोलखाको बिगु गाउँपालिका- ३ स्थित लाँकुरी डाँडा-पिपल डाँडा ग्रामीण सडक स्तरोन्नति गर्ने क्रममा ८० हजार घुस लिएका थिए ।
आर्थिक वर्ष (आव) २०८०/०८१ मा उक्त योजनाको काम सम्पन्न गरी भुक्तानी लिने क्रममा थापाले सेवाग्राहीसँग ८० हजार रुपैयाँ मागेका थिए ।
साथै कार्यालयका सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पालाई उनले उक्त रकम लिन लगाएका थिए । उजुरी परेपछि आयोगले गरेको अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका थिए ।
आयोगले ८० हजार रुपैयाँ बिगो कायम गरेर शिवाकोटी र शेर्पालाई पनि मुख्य कसुरदार थापा सरह नै सजायको मागदाबी गरेको छ ।