
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनतासँगको कडी टुटेको भन्दै देशैभर जाने घोषणा गरेका छन् ।
चार दिनसम्म पदाधिकारीहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मंगलबार प्रचण्डले अब एकपटक जनतासँग एकाकार हुन लागेको बताएका माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
‘जनतासँगको सम्बन्धको कडी टुटेको छ । एकपटक जनतासँग एकाकार हुन मन छ । सुख दु:खका कुरा सुन्न देशैभर जान मन छ भन्नुभएको छ,’ सापकोटाले भने, ‘यो कार्यक्रम केन्द्रीय समितिको बैठकपछि हुन्छ । उहाँले जोड दिएर म एकपल्ट देश व्यापी जनताको माझमा जान्छु । जनताको कुरा सुनेपछि विचार संश्लेषणतिर जान्छु भन्नुभएको छ ।’
बैठकले जनतासँगको कडी टुटेको भन्दै अर्को चुनावमा एक्लै लड्ने निर्णय गरेको सापकोटाले जानकारी दिए ।