गत आर्थिक वर्षमा जुम्लाका आठ स्थानीय तहका सात सय ९६ जनाले जन्म र मृत्युको बेला दिइने २० केजी चामल प्राप्त गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका अनुसार जन्म हुँदा तीन सय ३४ र मुत्यु हुँदा ३२ जनाले मन्सुली चाम लिएका छन् ।
त्यस्तै अरुवा मध्यम चामल लिनेमा जन्मतर्फ तीन सय २१, मुत्युतर्फ २३ जना छन् । कार्यालयका अनुसार अरुवा मोटा चामल लिनेमा जन्मतर्फ ४८ र मुत्युमा दुई जना छन् । अरुवा मकावनपुर चामल भने जन्ममा ३०, मुत्युमा पाँच जनाले लिएका कार्यालयका सूचना अधिकारी लक्ष्मण शर्माले जानकारी दिए।
उनका अनुसार जन्म र मृत्यु हुँदा गत आवमा रु नौ लाख ५९ हजार नौ सय ८० बराबरको एक सय ५९ क्विन्टल चालम वितरण भएको छ । उनले चालम उपलब्ध गराउँदा ज्यालामा भने रु तीन लाख ८८ हजार पाँच सय खर्च भएको बताए ।
उक्त सुविधा लिनका लागि ३५ दिनभित्र जन्मको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र वडाको सिफारिस आवश्यक पर्छ भने मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडाको सिफारिस र सेवा लिन आउने सेवाग्रहीको नागरिकताको प्रतिलिपि आवश्यक हुने खाद्य कम्पनी जुम्लाले जनाएको छ ।