काठमाडौं, ११ कात्तिक- चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) मा नेपाल साझेदार बनेको सात महिना बितेको छ । तर, नेपालले बीआरआईअन्तर्गत चीनलाई सहयोग प्रस्तावका लागि एउटा पनि विकास परियोजना छनोट गर्न सकेको छैन ।

नेपालले बीआरआईअन्तर्गत सहयोग परियोजना प्रस्ताव गर्न नसकेपछि चीनले कूटनीतिक च्यानलबाट असन्तुष्टि पोख्न थालेको एक उच्च सरकारी अधिकारीले बताए ।
नेपालका लागि चिनियाँ राजदूत यु होङ्ले प्रधानमन्त्री तथा अन्य सरकारी अधिकारीसँगका हालैका भेटमा बेल्ट एन्ड रोड अवधारणा कार्यान्वयनका लागि नेपालका तर्फबाट भएका प्रयासबारे निरन्तर चासो राख्न थालेकी छन् ।
चिनियाँ राजदूतले प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको भेटमा देउवाले बेल्ट एन्ड रोड अवधारणामा नेपाल सदस्य बनिसकेको र त्यसबाट आर्थिक विकासमा लाभ लिन चाहेको बताएका थिए, अन्नपूर्ण पोस्टमा खबर छ ।