
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका छन् । सत्ता गुमाएको २५ दिनपछि बुधवार बिहान संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको सहमतिको ड्राफ्ट बुझ्न प्रचण्ड सिंहदरबार पुगेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित प्रमुख तीन दलका शीर्ष नेताले सामूहिक रूपमा प्रतिवेदन ग्रहण गरेका छन् । गृहमन्त्री रमेश लेखक संयोजकत्वको कार्यदलले टीआरसी विधेयकमा सहमति गरेको थियो ।
असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएर पदमुक्त भएका प्रचण्ड असार ३० पछि सिंहदरबार गएका थिएनन् । ओली प्रधानमन्त्री बनेपछि तीन शीर्ष नेता पहिलोपटक सार्वजनिक ठाउँमा एकैपटक देखिएका हुन् ।