स्पेन, ११ कार्तिक– स्पेनको क्याटलोनिया क्षेत्रको संसद्ले शुक्रबार स्वतन्त्रताको पक्षमा मतदान गरेको छ ।
क्याटलोनियाको स्वतन्त्रताका लागि निर्णय लिने सन्दर्भमा भएकोे गोप्य मतदानलाई एकताका पक्षधरहरुले बहिष्कार गरेका छन् । संसद्मा स्वतन्त्रताको पक्षमा ७० मत परेको छ भने विपक्षमा १० मत परेको छ । दुई सांसद्ले कुनै पनि पक्षमा मतदान नगरी मतपत्रलाई खाली खसालेका बताइएको छ ।
सो मतपरिणाम सुनेर क्षेत्रीय संसदभवन बाहिर भेला भएका स्वतन्त्रता पक्षधर समूहले खुशी व्यक्त गरे भने मत परिणाम आएसँगै क्याटलोनियाको सेयर बजारमा भारी गिरावट आएको देखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच स्वतन्त्रताका पक्षमा क्याटलोनियाली संसदले मतदान गरेपछि प्रतिक्रिया दिँदै स्पेनी प्रधानमन्त्री मारिआनो राखोइले सवै स्पेनी नागरिकलाई शान्त रहन आग्रह गरेका छन् । उनले क्याटलोनियामा विधिको शासन पुनः स्थापना गरिने बताएका छन् ।
स्वतन्त्रताको पक्षमा गरिएको मतदानले स्पेनमा राजनैतिक संकट थप चर्किने देखिएको छ ।
राजधानी मड्रिडमा प्रधानमन्त्री मारिआनो राखोइले क्याटलान प्रशासनलाई भंग गर्न सिनेटको मागेका छन् ।
उनले सिनेटरहरुसमक्ष क्याटलोनियामाथि प्रत्यक्ष शासन गर्ने प्रस्ताव पेश गरेका छन् भने क्याटलान क्षेत्रका नेता कार्लेस पुज्डमोन, उनका उपराष्ट्रपति तथा सबै क्षेत्रिय मन्त्रीहरुलाई बर्खास्त गर्ने प्रस्ताव समेत गरेका छन् । प्रधानमन्त्रीको मागप्रति सिनेटमा समर्थन रहेको देखिएको छ । राखोईले अर्को कुनै विकल्प नै नभएकाले क्याटलोनियामा ‘कानून, प्रजातन्त्र र स्थायित्व’ फर्काउन आफूले कडा कदम चाल्नु परेको बताए ।
स्पेनबाट स्वतन्त्र हुने पक्षमा क्याटलोनियाले अक्टोबर १ मा विवादास्पद जनमत संग्रह गरेको थियो ।