१० साउन २०८३, आइतबार

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री जियाको आग्रह– हिंसा, तोडफोड र राज्य स्रोतको लुटपाट रोकौं

साउन २३, २०८१
काठमाडौं
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री जियाको आग्रह– हिंसा, तोडफोड र राज्य स्रोतको लुटपाट रोकौं

ढाका– बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाले सरकारी जागिरमा भेदभाव विरोधी विद्यार्थी आन्दोलनले निम्त्याएको राष्ट्रव्यापी हिंसा, तोडफोड र राज्य स्रोतको लुटपाटबारे चिन्ता व्यक्त गरेको त्यहाँको सञ्चारमाध्यम ढाका ट्रिब्युनले उल्लेख गरेको छ । 

ढाकाको ‘एभरकेयर’ अस्पतालमा रहेकी जियासँग बङ्गलादेश खिलाफत मजलिस पार्टीका महासचिव मौलाना मामुनुलको टोलीले भेटवार्ता गरेका थिए । ढाका जहाँ जियाले भनिन्, ‘हाम्रो राज्यको स्रोत र साधन खेर गइरहेको छ । यो देश हाम्रो हो, हामीले यो देशको निर्माण गर्नुपर्छ ।’

अगस्ट ६ मा बङ्गलादेशका राष्ट्रपति शाहाबुद्दिन अहमदले पूर्वप्रधानमन्त्री जियालाई संविधानको धारा ४९ अनुसार जेल सजाय कम गरेर रिहा गर्ने घोषणा गरेका थिए ।

ढाका ट्रिब्युनका अनुसार भेटवार्तामा जियाले जनताको जीवन र सम्पत्तिमा क्षति पुर्याउनु गम्भीर अपराध भएको बताइन् । उनले राज्यको स्रोतको लुटपाटमा धेरै मानिसहरू संलग्न रहेको र यो कार्य अन्यायपूर्ण रहेको पनि प्रष्ट पारिन् ।   

‘बेगम खालिदा जिया उत्पीडित महिला हुनुहुन्छ । हामी लामो समयसम्म जेलमा बस्यौं । मौलाना मामुनुल हक पनि लामो समयसम्म जेलमा रहनुभयो । मौलाना मामुनुल हकको नेतृत्वमा हामी उहाँको स्वास्थ्यबारे सोधपुछ गर्न अस्पताल गयौँ,’ भेटबारे खिलाफत मजलिसका उप–महासचिव मौलाना अताउल्ला अमिनले भनेका छन् ।

बैठकबारे सोधिएको प्रश्नमा खिलाफत मजलिसका संयुक्त महासचिव मौलाना अमिनले थपे, ‘देशको अवस्था राम्रो छैन । जिया मानव जीवन र सम्पत्तिको क्षतिबारे चिन्तित हुनुहुन्छ । राज्यका स्रोतहरू लुटिनु सही काम होइन ।’

अगस्ट ५  मा बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले जियालाई रिहा गर्ने आदेश जारी गरेका थिए । बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेको केही घण्टापछि उनले यो निर्णयको घोषणा गरेका हुन् । 

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री जियाको स्वास्थ्य अवस्था खराब छ । बाथ रोग, मधुमेह र ‘लिभर सिरोसिस’की बिरामी उनी ह्विलचेयर प्रयोग गर्छिन् ।

७८ वर्षीया जियालाई हसिनाको शासनकालमा सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्षको कारागार सजाय सुनाइएको थियो । 

यसलाई उनको पार्टीले राजनीतिक रूपमा प्रेरित भन्दै खण्डन गर्दै आएको छ । राजनीतिमा भाग नलिने र उपचारका लागि विदेश नजाने सर्तमा जियालाई घरमै नरबन्दमा राखिएको थियो । 

जियालाई राजनीतिमा प्रवेश गर्नबाट रोक्नका लागि भ्रष्टाचारको आरोप लगाइएको बीएनपीले दाबी गरेको छ । तर हसिना प्रशासनले यो आरोप अस्वीकार गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्