
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वविदेशमन्त्री के नटवर सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले स्व पूर्वविदेशमन्त्री सिंहसँगको तस्वीर आइतवार सामाजिक सञ्जालमा राख्दै दुःख व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत दुःख व्यक्त गर्दै सिंहले कूटनीति र वैदेशिक नीतिका क्षेत्रमा भारतका लागि गरेको योगदानको प्रशंसा गरेका छन् ।
यस्तै भारतीय राष्ट्रिय कांग्रेसका नेता एवं राज्यसभा सांसद रणदीपसिंह सुरजेवालाले शनिवार राति १२ बजे एक्समा पोष्ट गरेको शोक सन्देशमा भनिएको छ, ‘पूर्वविदेशमन्त्री नटवर सिंहजीको निधन भएको छ । ईश्वरले उहाँको परिवारलाई यो क्षति सहने शक्ति प्रदान गरुन्, साथै, दिवङ्गत आत्माको शान्तिका लागि कामना ।’

कांग्रेस नेतासमेत रहेका भारतका पूर्वविदेशमन्त्री सिंहको शनिवार राति ९३ वर्षको उमेरमा निधन भएको हो ।
लामो समयदेखि बिरामी रहेका उनको गुरुग्राम (हरियाणा)स्थित मेदान्त अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सिंहले सन् २००४ देखि २००५ सम्म यूपीए सरकारका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको मन्त्रिपरिषदमा विदेशमन्त्रीको रूपमा काम गरेका थिए ।
सिंहलाई सन् १९८४ मा पद्मभूषणबाट पनि सम्मानित गरिएको थियो ।