
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीलाई विधि पद्धतिमा चलाउने कुरा गर्दा राज्य शक्तिको दुरुपयोग गरिएको आरोप लगाएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'प्रति लक्षित गर्दै उनले कमी कमजोरीको कुरा गर्दा पार्टी फुटाइँदै छ भन्ने हल्ला चलाइएको आरोप लगाएका हुन् ।
शनिबार पार्टी स्थायी कमिटी बैठकमा पेश गरेको प्रस्तावमा शर्माले पार्टीमा विधिको कुरा गर्दा डर मान्नुपर्ने अवस्थाको सृजना गरिएको आरोप लगाएका हुन् ।
‘विधि, पद्धतिभित्र संचालित सही आचरणयुक्त पार्टी बनाऔं र चलाऔं भन्दा डर मान्नुपर्ने, धक मान्नुपर्ने, लाञ्छित हुनुपर्ने अवस्था सृजना गरियो । अझ थप दुरुत्साहन गर्न राज्य शक्तिको समेत दुरुपयोग भएको आभाष भयो,’ शर्माले भनेका छन् ।
प्रचण्ड प्रधानमन्त्री रहेको समयमा राज्यका निकायबाट छानबिनको धम्की दिइएको भन्दै शर्माले प्रस्तावका यस्तो कुरा लेखेको माओवादीका एक नेताले जानकारी दिए ।
यसअघिको बैठकमा पनि प्रचण्ड प्रधानमन्त्री रहेको समयमा कृष्णबहादुर महरालाई पक्राउ गरिएकोमा विरोध भएको थियो ।
शर्माले केन्द्रदेखि तलसम्म परिवारवाद हावी भएको बताएका छन् ।
‘पार्टीलाई आम जनताबाट अलग-अलग मात्र पारिएन, माथिदेखि तलसम्म परिवारवाद हावी गराइयो,’ शर्माले भनेका छन्, ‘पार्टीभित्र मुद्दा विशेषमा कमी कमजोरीबारे छलफल र बहसलाई विषयान्तर गर्न पार्टी फुट्दैछ भन्ने हल्ला चलाइयो ।’